उत्पत्ति 17
17
खतनाको करार
1अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर#17:1 मूल भाषामा एल शद्दाइ हुँ; विश्वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्। 2अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।”
3त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्वरले तिनलाई भन्नुभयो, 4“हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्। 5अब उसो तँलाई अब्राम#17:5 अब्राम जसको अर्थ उच्च पारिएका पिता। भनिनेछैन; तर तेरो नाम अब्राहाम#17:5 अब्राहाम जसको अर्थ धेरै जातिहरूका पिता। हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु। 6म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्। 7म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करार स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्वर हुनेछु। 8तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्वर हुनेछु।”
9तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ। 10मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना#17:10 तिमीहरूका योचाहिँ हरेक पुरुषको लिङ्गको टुप्पोको छाला काटेर फाल्ने नियम। हुनुपर्छ। 11तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ। 12अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्, 13चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा पैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ। 14खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”
15परमेश्वरले अब्राहामलाई यो पनि भन्नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा#17:15 सारा जसको अर्थ धेरै जातिहरूकी आमा। हुनेछ। 16म त्यसलाई आशिष् दिनेछु, र म निश्चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्न हुनेछन्।”
17तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्चा जन्माउलिन् र?” 18अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल तपाईंको आशिष्मुनि बाँच्छ भने पनि असल हुनेछ।”
19तब परमेश्वरले भन्नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक#17:19 इसहाक यसको अर्थ उनी हाँस्छन्। राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु। 20अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु। 21तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे” 22परमेश्वर अब्राहामसित कुरा गरिसक्नुभएपछि तिनीबाट गइहाल्नुभयो।
23त्यही दिन नै परमेश्वरले तिनलाई भन्नुभएझैँ, अब्राहामले आफ्नो छोरा इश्माएल र आफ्ना घरानामा जन्मेका सबै, र आफ्नो पैसाले किनेका हरेक पुरुषको खलडीको खतना गरे। 24अब्राहामको खलडीको खतना हुँदा तिनी उनान्सय वर्षका थिए। 25अनि तिनको छोरा इश्माएलको खलडीको खतना हुँदा त्यो तेह्र वर्षको थियो। 26अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो। 27अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो।
Currently Selected:
उत्पत्ति 17: NCV
Tya elembo
Kabola
Copy

Olingi kobomba makomi na yo wapi otye elembo na baapareyi na yo nyonso? Kota to mpe Komisa nkombo
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.