Logo YouVersion
Icona Cerca

यूहन्‍ना 2

2
काना सहरमा भएको विवाह
1पर्सिपल्‍टको कुरो हो। गालील क्षेत्रको काना सहरमा कुनै एउटा घरमा विवाह थियो। येशूकी आमा पनि त्‍यस विवाहमा गएकी थिइन्। 2येशू र उहाँका चेलाहरू पनि त्‍यस विवाहमा निम्‍त्‍याइएका थिए।
3विवाहमा दिने अङ्‌गुरको मद्य सकिएकोले येशूकी आमाले उहाँलाई भनिन्, “अङ्‌गुरको मद्य त सकिएछ!” 4यो सुनेर येशूले भन्‍नुभयो, “आमा, मैले के गर्नुपर्ने हो, तपाईंले मलाई भन्‍नुपर्दैन किनभने मेरो काम गर्ने बेला अझै आएको छैन।” 5त्‍यसपछि येशूकी आमाले नोकरहरूलाई भन्‍नुभयो, “येशूले जे भन्‍छन्, त्‍यही गर।”
6त्‍यहाँ नजिकै ढुङ्गा कुँदेर बनाइएका छ वटा घ्याम्‍पाहरू थिए। तिनीहरूमा झण्‍डै एक-एक सय लिटर पानी जान्‍थ्‍यो। यस्‍ता घ्याम्‍पाहरूचाहिँ यहूदीहरूले आफूलाई चोख्‍याउने काममा प्रयोग गर्थे। 7येशूले नोकरहरूलाई भन्‍नुभयो, “यी सबै घ्याम्‍पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए।
8त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो अलिकति लगेर भोजको नाइकेलाई चाख्‍न देओ।” उनीहरूले अलिकति लगेर भोजको नाइकेलाई चाख्‍न दिए। 9नाइकेले पानी चाख्‍दा त त्‍यो अङ्‌गुरको मद्य बनिसकेको थियो। तर त्‍यो मद्य केबाट बनिएको थियो, त्‍यो कुरा उनले थाहा पाएका थिएनन्। त्‍यो त ल्‍याउने नोकरहरूलाई मात्रै थाहा थियो। भोजको नाइकेले दुलहाकहाँ आएर भने, 10“अरूले त पहिले राम्रो खालको मद्य पिउन दिन्‍छन् अनि पाहुनाहरूले धेरै मद्य पिइसकेपछि मात्रै कमसल खालको दिन्‍छन्, तर हजुरले त अहिलेसम्‍म सबैभन्दा राम्रोचाहिँ जोगाएर राख्‍नुभएको रहेछ।”
11यसरी गालीलको काना सहरमा अचम्‍मको चिन्‍हद्वारा येशूले आफ्‍नो महिमा पहिलोपल्‍ट प्रकट गर्नुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे। 12#मत्ती 4:13त्‍यसपछि येशू, उहाँका आमा, भाइ र चेलाहरूसँग तल कफर्नहुम सहरमा जानुभयो र केही दिन त्‍यहीँ बस्‍नुभयो।
येशूले मन्‍दिर शुद्ध पार्नुभएको
(मत्ती २१:१२-१३; मर्कूस ११:१५-१७; लूका १९:४५-४६)
13 # प्रस्‍थान 12:1-27 यहूदीहरूको निस्तार भन्‍ने चाड आउन लागेको थियो। त्‍यस बेला येशू यरूशलेममा जानुभयो। 14उहाँले मानिसहरूलाई मन्‍दिरमा परेवा, भेडा, गाईवस्‍तुहरू बेचिरहेको र पैसा साटी रहेको देख्‍नुभयो। 15यो देखेर येशूले कोर्रा लिएर त्‍यहाँ भएका गाईवस्‍तु, भेडा, बाख्रा सबै लखेट्‍नुभयो, पैसा साट्‍नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्‍टाइदिनुभयो। 16उहाँले परेवा बेच्‍नेहरूलाई हकारेर भन्‍नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!”
17 # भजनसंग्रह 69:9 त्‍यति बेला उहाँका चेलाहरूले धर्मशास्‍त्रमा लेखिएको यो कुरा सम्‍झे, “हे परमेश्‍वर! तपाईंको घरको निम्‍ति मेरो जोश मभित्रै आगोजस्‍तै बल्‍दछ।”
18तर यहूदी अगुवाहरूले येशूलाई रोक्‍न खोज्‍दै भने, “के तपाईंलाई यसो गर्ने अधिकार छ? छ भने के हामीलाई कुनै अचम्‍मको चिन्‍ह देखाउन सक्‍नुहुन्‍छ?” 19#मत्ती 26:61; 27:40; मर्कूस 14:58; 15:29येशूले भन्‍नुभयो, “यस मन्‍दिरलाई भत्‍काओ अनि म यसलाई तीन दिनमा फेरि बनाउनेछु।” 20उनीहरूले भने, “के तपाईंले तीनै दिनमा बनाउनुहुन्‍छ त? यो मन्‍दिर बनाउन त छयालीस वर्ष लागेको थियो!”
21तर येशूले भन्‍नुभएको मन्‍दिरचाहिँ उहाँको आफ्‍नै शरीर थियो। 22येशू मरेकोबाट बिउँतनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्‍झे। तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको कुरामा विश्‍वास गरे।
23मुक्ति-दिवस चाडको बेला यरूशलेममा हुनुहुँदा उहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो। यो देखेर धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। 24तर येशू उनीहरूमा भर पर्नुभएन किनभने उहाँले सबै मानिसलाई राम्ररी चिन्‍नुहुन्‍थ्‍यो। 25उहाँले मानिसको भित्री हृदयलाई जान्‍नुभएको हुनाले कसैले पनि उहाँलाई कुनै मानिसको बारेमा बताउन आवश्‍यक थिएन।

Evidenziazioni

Condividi

Copia

None

Vuoi avere le tue evidenziazioni salvate su tutti i tuoi dispositivi?Iscriviti o accedi