YouVersion Logo
Search Icon

जकरिया 6

6
चार वटा रथहरू
1मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए। 2पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए; 3तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए। 4मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”
5तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू#6:5 अथवा हावाहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्। 6काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्‍चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।”
7ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए।
8तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।”
यहोशूको निम्ति एउटा मुकुट
9याहवेहको वचन मकहाँ आयो: 10“बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा। 11त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे। 12अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ। 13यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’ 14मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै,#6:14 केही प्राचीन पा.लि.हरूमा हेलेम तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ। 15टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।”

Currently Selected:

जकरिया 6: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in