YouVersion Logo
Search Icon

जकरिया 11

11
1हे लेबनान, तेरा ढोकाहरू खोलिदे,
ताकि तेरा देवदारुका रूखहरू आगोले भस्म पारोस्!
2हे धूपी सल्‍ला, विलाप गर्; किनकि देवदारु नष्‍ट भएको छ;
सानदार रूखहरू नष्‍ट भएका छन्!
बाशानका फलाँटका रूखहरू विलाप गर;
घना जङ्गल काटेर ढालिएको छ!
3गोठालाहरूको विलाप सुन;
तिनीहरूका हरिया खर्कहरू नष्‍ट भएका छन्!
सिंहहरूका गर्जन सुन;
यर्दनको बाक्लो घारी नष्‍ट भएको छ!
दुई गोठालाहरू
4याहवेह मेरो परमेश्‍वरले यसो भन्‍नुहुन्छ: “मारिनका निम्ति चिन्ह लगाइएको बगाललाई गोठालो गर। 5तिनीहरूलाई किन्‍नेहरूले तिनीहरूलाई मार्छन्, र तिनीहरूले दण्ड पाउँदैनन्। तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘याहवेहको प्रशंसा होस्, म धनी छु!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि तिनीहरूलाई दया देखाउँदैनन्। 6त्यसरी नै अब उसो म यस देशका मानिसहरूमाथि दया देखाउनेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। “म हरेक मानिसलाई तिनीहरूका छिमेकीहरू र तिनीहरूको राजाको हातमा सुम्पिदिनेछु। तिनीहरूले देशमाथि अत्याचार गर्नेछन्, तर म तिनीहरूलाई उनीहरूका हातबाट छुटाउनेछैनँ।”
7यसकारण काटिनका निम्ति चिन्ह लगाइएको बगाललाई, विशेष गरी अत्याचारमा परेको बगाललाई मैले गोठालो गरेँ। तब मैले दुई वटा लहुरो लिएँ; अनि एउटालाई अनुग्रह र अर्कोलाई एकता नाम दिएँ, र मैले बगाललाई चराएँ। 8एक महिनामा मैले तीन जना गोठालाहरूलाई निकालिदिएँ।
त्यो बगालले मलाई घृणा गर्‍यो, र म पनि तिनीहरूसँग वाक्‍क भएँ, 9अनि मैले भनेँ, “म तिमीहरूका गोठाला हुनेछैनँ। मर्नेहरू मरून् र नाश हुनेहरू नाश होऊन्। जो बाँकी रहेका छन्, तिनीहरूले एक-अर्काका मासु खाऊन्।”
10तब मैले अनुग्रह नामको लहुरो लिएँ, र त्यसलाई भाँचिदिएँ र मैले सबै जातिहरूसित गरेको करार रद्द गरिदिएँ। 11त्यस दिन त्यो रद्द गरियो, र बगालका अत्याचारमा परेकाहरू, जसले मलाई हेरिराखेका थिए; तिनीहरूले यो याहवेहको वचन रहेछ भनी थाहा गरे।
12मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो उचित लाग्यो भने मेरो ज्याला मलाई देऊ; तर उचित लागेन भने आफैँ राख।” यसकारण तिनीहरूले मलाई तीस टुक्रा चाँदी दिए।
13अनि याहवेहले मलाई भन्‍नुभयो, “यस चाँदीलाई कुमालेको अगि फालिदे,” अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ।
14त्यसपछि यहूदा र इस्राएल बीचको पारिवारिक सम्बन्धलाई तोडिदिन, मैले एकता नाम भएको अर्को लहुरो पनि भाँचिदिएँ।
15तब याहवेहले मलाई भन्‍नुभयो, “एउटा मूर्ख गोठालोका सामानहरू फेरि ली। 16किनकि म देशमाथि एउटा गोठालो खडा गर्न लागेको छु, जसले हराएकालाई वास्ता गर्दैन, न त सानाहरूलाई खोज्छ, न त चोट लागेकाहरूलाई निको पार्छ, न त स्वस्थलाई खुवाउँछ; तर असल भेडाहरूलाई तिनीहरूको खुर च्यात्दै तिनीहरूको मासु खानेछ।
17“धिक्‍कार त्यो काम नलाग्ने गोठालालाई,
जसले बगाललाई छोडिदिन्छ!
तरवारले त्यसको हात र दाहिने आँखामा प्रहार गरोस्!
त्यसको पाखुरा पूर्ण रूपले सुकेर जाओस्;
अनि त्यसको दाहिने आँखा पूर्ण रूपले अन्धो भइजाओस्!”

Currently Selected:

जकरिया 11: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in