YouVersion Logo
Search Icon

मीका 1

1
1याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्‍ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए।
2हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन!
हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन!
याहवेह आफ्नो पवित्र मन्दिरबाट,
प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्!
सामरिया र यरूशलेमका विरुद्धमा न्याय
3हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ।
उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्‍च स्थानहरूलाई टेक्नुहुन्छ।
4उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्,
र उपत्यकाहरू टुक्रिन्छन्;
आगोको सामु मैन पग्लिएझैँ,
र भिरबाट पानी बगेजस्तै हुन्छन्।
5यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो।
इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो।
याकोबको अपराध के हो त?
के यो सामरिया होइन र?
यहूदाको उच्‍च स्थान के हो?
के त्यो यरूशलेम होइन र?
6“यसकारण म सामरियालाई भग्नावशेष,
र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु।
म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु,
र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु।
7त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्;
त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्;
म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु।
किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई;
अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”
रुवाबासी र विलाप
8यसैकारण म रुँदै विलाप गर्नेछु;
म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु।
म स्यालले जस्तै कराउनेछु,
र उल्‍लुले जस्तै बिलौना गर्नेछु।
9किनकि सामरियाको घाउ निको नहुने किसिमको छ;
त्यो यहूदासम्म नै फैलिएको छ।
त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ।
त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ।
10गातलाई यो कुरा नसुनाओ;
तिमीहरू रुँदै नरोओ!
बेथ-ओप्रामा#1:10 जसको अर्थ हो धुलोको घर
धुलोमा लडीबुडी गर।
11हे शाफीरका#1:11 जसको अर्थ हो सुखद बासिन्दाहरू हो,
नाङ्गा र लज्जित भएर निस्किजाओ।
सानानका बासिन्दाहरू,
बाहिर आउनेछैनन्।
बेथ-एजेल शोकमा छ;
अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन।
12मारोतमा बस्‍नेहरू सहायताको पर्खाइमा
पीडाले छटपटाइरहेका छन्;
किनकि याहवेहबाट आएको विपत्ति
यरूशलेमको ढोकासम्म नै आइपुगेको छ।
13हे लाकीशमा बस्‍नेहरू हो,
वेगले दौडने घोडाहरूलाई रथमा कस।
सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो;
किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो।
14यसकारण तिमीहरूले नै
मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ।
इस्राएलका राजाहरूका निम्ति
अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ।
15हे मारेशामा बस्‍नेहरू हो,
म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु।
इस्राएलका प्रतिष्‍ठित अगुवाहरू
अदुल्‍लाम सहरमा भाग्नेछन्।
16आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ,
तिनीहरूको शोकमा आफ्नो केश खौर;
तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ;
किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ।

Currently Selected:

मीका 1: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in