उत्पत्ति 22
22
अब्राहामको विश्वासको जाँच
1केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” #हिब ११:१७-१९
तिनले भने, “म यहीँ छु।”
2उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” #२ इति ३:१
3अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। 4तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। 5तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”
6अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। 7इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।”
तिनले भने, “के हो, छोरा?”
त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”
8अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।
9परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। #याक २:२१ 10तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। 11तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!”
तिनले भने, “म यहीँ छु।”
12उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।”
13अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेड़ालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि गरे। 14यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।
15परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, 16परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु। #हिब ६:१३-१४ 17तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। #हिब ११:१२ 18तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।” #प्रे ३:२५
19त्यसपछि अब्राहाम आफ्ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।
20केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने: 21जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल, 22र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल। 23बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माइन्। 24यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई।
Επιλέχθηκαν προς το παρόν:
उत्पत्ति 22: NNRV
Επισημάνσεις
Κοινοποίηση
Αντιγραφή

Θέλετε να αποθηκεύονται οι επισημάνσεις σας σε όλες τις συσκευές σας; Εγγραφείτε ή συνδεθείτε
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012