YouVersion Logo
Search Icon

रोमी 9

9
इस्राएलमाथि पावलको वेदना
1ख्रीष्‍टमा म सत्य बोल्दछु; पवित्र आत्माद्वारा मेरो विवेकले पनि यही साक्षी दिँदछ कि, मैले असत्य बोलेको छैनँ। 2म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ। 3किनकि म चाहन सक्थें कि, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्, उनीहरूका निम्ति म श्रापित भई ख्रीष्‍टदेखि अलग होऊँ, 4यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक; उनीहरूले नै ईश्‍वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्‍त गरेका हुन्। 5पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो, उहाँ जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदा-सर्वदा प्रशंसाको होस्! आमेन!
परमेश्‍वरको सार्वभौम छनौट
6परमेश्‍वरको वचन विफल भएको होइन; किनभने इस्राएल राष्ट्रमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्। 7न ता उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकद्वारा तेरा वंशहरू गनिनेछ।”#9:7 उत्प 21:12 8यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ। 9किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठीक समयमा म फर्किआउनेछु र साराले पुत्र जन्माउनेछे।”#9:9 उत्प 18:10, 14
10यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तानहरू गर्भधारण गरेकी थिइन्। 11जुम्ल्याहा छोराहरू जन्मनअघि तथा उनीहरूले कुनै असल वा खराब काम गर्न अघि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले, 12कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो बताइयो, “जेठोले कान्छोको सेवा गर्नेछ।”#9:12 उत्प 25:23 13यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरें, तर एसावलाई घृणा गरें।”#9:13 मला 1:2, 3
14अब हामीले के भनौं त? के परमेश्‍वर अन्यायी हुनुहुन्छ? कदापि होइन! 15किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ;
“जसलाई म कृपा गर्न चाहन्छु, म कृपा गर्नेछु,
जसलाई म दया देखाउन चाहन्छु, म दया देखाउनेछु।”#9:15 प्रस 33:19
16यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्‍वरको कृपामा निर्भर छ। 17किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही अभिप्रायले खडा गरें कि, मेरो शक्‍ति तँमा देखाऊँ, र मेरो नाउँ सारा पृथ्वीमा घोषणा गरूँ।”#9:17 प्रस 9:16 18यसकारण परमेश्‍वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ, र जसलाई कठोर बनाउन चाहनुहुन्छ, उसलाई कठोर बनाउनुहुन्छ।
19कसैले मलाई सोधौला: “किन परमेश्‍वरले हामीलाई अझ पनि दोष लगाउनुहुन्छ? किनकि कसले उहाँको इच्छाको विरोध गर्न सक्छ?” 20तर हे मानिस, परमेश्‍वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको थोकले बनाउनुहुनेलाई नै सोध्ने त, ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ”#9:20 यशै 29:16; 45:9 21के कुमालेलाई एउटै माटोको डल्‍लाबाट केही भाँडो विशेष उद्देश्यका निम्ति र अरू केही भाँडो साधारण थोक राख्नलाई बनाउने अधिकार हुँदैन र?
22यदि परमेश्‍वरले आफ्नो क्रोध प्रकट गर्नलाई र आफ्नो सामर्थ्य प्रकट गर्नलाई विनाशको निम्ति तयार गरिएको क्रोधको भाँडो धैर्यतासँग सहिदिनुभयो भने के भयो त? 23उहाँले आफ्नो महिमाको धन उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाको निम्ति पहिल्यै तयार पार्नुभएको थियो। 24हामीलाई पनि, जसलाई उहाँले यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट पनि बोलाउनुभयो। 25होशेको पुस्तकमा परमेश्‍वर घोषणा गर्नुहुन्छ:
“तिनीहरूलाई म ‘मेरो प्रजा’ भन्‍नेछु; जो मेरा प्रजा होइनन्,
र उनलाई म ‘मेरो प्रिय’ भनेर डाक्नेछु, जो मेरो प्रिय थिएन।”#9:25 होशे 2:23
26अनि,
“जुन ठाउँमा उनीहरूलाई यस्तो भनियो,
‘तिमीहरू मेरा प्रजा होइनौ’
त्यही ठाउँमा तिनीहरूलाई ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ।”#9:26 होशे 1:10
27इस्राएलको निम्ति यशैया रुन्छन्:
“यद्यपि इस्राएलीहरूको संख्या समुद्रको किनारको बालुवासरी हुनेछ,
तापनि थोरै मात्र बचाइनेछ।
28किनकि प्रभुले पृथ्वीमा
आफ्नो दण्डको आज्ञा चाँडै र पूर्ण रूपले गर्नुहुनेछ।”#9:28 यशै 10:22, 23
29जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए:
“सर्वशक्‍तिमान प्रभुले
हाम्रा लागि सन्तान नछोड्नुभएको भए
हामी सदोमझैं हुनेथियौं,
र गमोराझैं बन्‍नेथियौं।”#9:29 यशै 1:9
इस्राएलको अविश्‍वास
30अब हामीले के भनौं त? ती गैरयहूदीहरू जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्‍त गर्न सके, जुन धार्मिकता विश्‍वासले मात्र प्राप्‍त गर्न सकिन्छ; 31तर इस्राएलका मानिसहरू जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्‍त गर्न सकेनन्। 32किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्‍वासद्वारा होइन, तर कर्मद्वारा प्राप्‍त गर्न खोजे। उनीहरू “ठक्‍कर खाने ढुङ्गा” मा ठेस खान पुगे। 33यस्तो लेखिएको छ:
“हेर, मैले सियोनमा एउटा ठेस लाग्ने ढुङ्गा राखेको छु,
एउटा चट्टान जसले मानिसलाई लडाउँछ,
तर जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”#9:33 यशै 8:14; 28:16

Currently Selected:

रोमी 9: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in