YouVersion Logo
Search Icon

रोमी 11

11
इस्राएलका बाँकी रहेकाहरू
1म सोध्छु: के परमेश्‍वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफै पनि एक इस्राएली हुँ, अब्राहामको वंश, बेन्यामीन कुलबाट हुँ। 2परमेश्‍वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्‍नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्‍ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग विन्ती गरेका थिए: 3“प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एक्लो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।”#11:3 1 राजा 19:10, 14 4अनि उनलाई परमेश्‍वरको जवाफ के थियो? “मैले आफ्नो निम्ति बाल देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।”#11:4 1 राजा 19:18 5यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका जनहरूका एक बाँकी भाग छ। 6यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन; यदि काममा आधारित हुन्थ्यो भने, अनुग्रह अनुग्रह नै हुनेथिएन।
7तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्‍त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्‍त गर्न सके, तर अरू सबै कठोर पारिए। 8यसरी लेखिएको छ:
“परमेश्‍वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो,
आँखाहरू जसले देख्न सकेनन्
अनि कानहरू, जसले सुन्‍न सकेनन्,
आजसम्मै तिनीहरू यस्तै छन्।”#11:8 व्यव 29:4; यशै 29:10
9अनि दाविदले भन्दछन्:
“तिनीहरूका भोजन पासो र फन्दा बनोस्,
अनि तिनीहरूका लागि ठक्‍कर र बदलाको कारण बनोस्।
10तिनीहरूका आँखाहरू अन्धकार होस् र तिनीहरूले देख्न नसकून्,
तिनीहरूका ढाड सदालाई कुप्रिएका होस्।”#11:10 भजन 69:22, 23
कलमी लगाएका हाँगाहरू
11म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्‍कर खाएका हुन् त? कदापि होइन! तर, इस्राएलमा पनि मुक्‍तिका लागि डाह पलाऊन् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्‍ति आएको छ। 12तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने, तिनीहरूका पुनर्स्थापनाले कति धेरै वैभव ल्याउला!
13म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु; 14यस आशामा कि, जसरी भए पनि म मेरा आफ्ना मानिसहरूमा डाहा उत्पन्‍न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ। 15किनकि यदि तिनीहरूको अस्वीकृति संसारको निम्ति परमेश्‍वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र? 16यदि मुछेको पीठोको केही भाग प्रथम् भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पीठोको जम्मै भाग पवित्र हुन्छ; यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
17यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतून हौ, ती रूखमा कलमी गरिएका छौ र जैतुनको रूखको जराबाट प्राप्‍त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने 18आफैलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ कि, जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ। 19त्यसपछि तिमीले भन्‍नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।” 20ठीकै हो, तर ती हाँगाहरू त उनीहरूको अविश्‍वासको कारणले काटिएका हुन्, अनि तिमी विश्‍वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान। 21किनकि यदि परमेश्‍वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन।
22यसकारण परमेश्‍वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर तिमीलाई दया यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने। नत्र भने तिमीहरू पनि काटिनेछौ। 23अनि यदि उनीहरू पनि आफ्नो अविश्‍वासमा निरन्तर रहिरहेनन् भने, उनीहरू कलमी हुनेछन्; किनकि परमेश्‍वर उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ। 24यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो, र प्रकृतिविरुद्ध हुँदाहुँदै पनि रोपिएको जैतूनको रूखमा कलमीद्वारा गाँसियौ भने, झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतूनका रूखमा कति सहजै गाँसिएलान्!
सबै इस्राएलीहरूको उद्धार
25दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोऔ: इस्राएलका केही मानिसहरूका हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्‍टमा नआउन्जेलका लागि मात्र हुनेछ। 26यसरी सब इस्राएलीहरूको उद्धार हुनेछ, जसरी लेखिएको छ:
“उद्धारकर्ता सियोनबाट आउनुहुनेछ;
उहाँले याकोबबाट अभक्‍ति दूर गर्नुहुनेछ,
27अनि उनीहरूसँग यो मेरो करार हुनेछ
जब म उनीहरूका पाप मेटाइदिनेछु।”#11:27 यशै 59:20, 21; 27:9; यर्मिया 31:33, 34
28सुसमाचारको दृष्‍टिमा, तिनीहरू तिम्रा लागि परमेश्‍वरका दुश्मन हुन्; तर परमेश्‍वरको चुनावको दृष्‍टिबाट, तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्, 29किनकि परमेश्‍वरको वरदान र बोलावट अटल छन्। 30जसरी तिमीहरू एकपल्ट परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारीताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ, 31यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्‍वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्। 32किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारीतामा बन्दी बनाउनुभएको छ ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।
स्तुतिगान
33ओहो! परमेश्‍वरको बुद्धि र ज्ञानको कति अपार धन!
उहाँको न्यायहरू कति अथाह,
र उहाँका पथहरू कति अगम छन्!
34“प्रभुको मनलाई कसले जानेको छ र?
अथवा उहाँको सल्‍लाहकार को भएको छ र?”#11:34 यशै 40:13
35“परमेश्‍वरलाई कसले केही दिएको छ,
कि परमेश्‍वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”#11:35 अय्‍यूब 41:11
36किनकि उहाँमार्फत्, उहाँद्वारा र सबै कुरा उहाँकै निम्ति हुन्।
उहाँलाई सदा-सर्वदा महिमा भइरहोस्! आमेन!

Currently Selected:

रोमी 11: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in