YouVersion Logo
Search Icon

प्रकाश 7

7
एक लाख चवालीस हजारलाई छाप लगाइएको
1यसपछि मैले चारजना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनाहरूमा उभिरहेका देखें, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारैओटा बतासहरूलाई रोकिराखेका थिए। 2तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखें। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चारजना स्वर्गदूतहरूलाई जोडसित भने, 3“जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौं, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।” 4तब मैले छाप पाएकाहरूको संख्या सुनें, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट एक लाख चवालीस हजार थिए।
5यहूदाको कुलबाट बाह्र हजारलाई छाप लगाइयो,
रूबेनको कुलबाट बाह्र हजारलाई,
गादको कुलबाट बाह्र हजारलाई,
6आशेरको कुलबाट बाह्र हजारलाई,
नप्‍तालीको कुलबाट बाह्र हजारलाई,
मनश्शेको कुलबाट बाह्र हजारलाई,
7शिमियोनको कुलबाट बाह्र हजारलाई,
लेवीको कुलबाट बाह्र हजारलाई,
इस्साखारको कुलबाट बाह्र हजारलाई,
8जबूलूनको कुलबाट बाह्र हजारलाई,
योसेफको कुलबाट बाह्र हजारलाई,
बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइयो।
सेतो वस्त्र लगाएका ठूलो भीड
9त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति अनि भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखें। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्रहरू पहिरेका अनि हातमा खजूरका हाँगाहरू लिएका थिए। 10अनि तिनीहरू चर्को सोरमा कराए:
“मुक्‍ति हाम्रा परमेश्‍वरको हो,
जो सिंहासनमा बस्‍नुहुन्छ,
अनि थुमाको पनि हो।”
11सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चारओटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, अनि यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,
12“आमेन!
हाम्रा परमेश्‍वरलाई प्रशंसा,
महिमा, बुद्धि, धन्यवाद,
आदर, शक्‍ति र बल
सदा-सर्वदा भइरहोस्,
आमेन!”
13तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन् अनि कहाँबाट आएका हुन्?”
14तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।”
अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महा सङ्कष्‍टबाट निस्केर आएका छन्, तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। 15यसकारण
“तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन्
अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्;
अनि सिंहासनमा बस्‍नुहुनेले
आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्;
तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्।
तिनीहरूलाई सूर्यको प्रचण्ड रापले,’#7:16 यशै 49:10
पोल्नेछैन।
17किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठाला हुनुहुनेछ;
‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’#7:17 यशै 49:10
‘अनि परमेश्‍वरले आफैले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’#7:17 यशै 25:8

Currently Selected:

प्रकाश 7: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in