यूहन्ना 8
8
1तर येशू जैतुन डाँडामा जानुभयो।
2भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए; अनि उहाँ तिनीहरूलाई शिक्षा दिन बस्नुभयो। 3व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अघि उभ्याए, 4र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी हो। 5व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ?” 6तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए।
येशू निहुरनुभयो र औंलाले भुइँमा लेख्न थाल्नुभयो। 7जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूमा कोही पापरहित छ भने, यस स्त्रीलाई त्यसैले पहिले ढुङ्गाले हानोस्।” 8अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।
9त्यसपछि यो कुरा सुन्नेहरू, बुढापाकादेखि सुरु गरेर सानासम्म एक-एक गर्दै त्यहाँबाट गए; अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। 10येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”
11त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन।”
येशूले भन्नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। अब जाऊ, फेरि पाप नगर।”
संसारको ज्योति
12फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
13तब फरिसीहरूले उहाँलाई भने, “तिमीले ता आफ्नै विषयमा गवाही दिइरहेका छौ, तिम्रो गवाही सत्य ठहरिँदैन।”
14येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ; किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु; सो म जान्दछु; तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्ने बारेमा तिमीहरू जान्दैनौ। 15तिमीहरू मानिसको दृष्टिले न्याय गर्दछौ; म कसैको न्याय गर्दिनँ। 16तर यदि मैले न्याय गरें भने पनि मेरो निर्णय सत्य हुन्छ; किनकि म एकलो छैनँ। मलाई पठाउनुहुने पिताको साथमा म छु। 17अनि तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुईजनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। 18मेरो आफ्नै विषयमा गवाही दिने एकजना म नै हुँ, मेरो अर्को गवाही मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
19तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?”
येशूले जवाफ दिनुभयो, “तिमीहरू मलाई चिन्दैनौ, मेरा पितालाई पनि चिन्दैनौ। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।” 20येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन; किनकि उहाँको समय अझै आएको थिएन।
येशू को हुनुहुन्छ भन्ने बारेमा मतभेद
21येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदैछु, अनि तिमीहरूले मलाई खोज्नेछौ, र तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
22ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”
23तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ। तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ। 24मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनें, यदि तिमीहरूले मैले आफूलाई जे हुँ भनी दाबी गर्छु; म उही नै हुँ भनी विश्वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
25तिनीहरूले सोधे, “तिमी को हौ ता?”
येशूले जवाफ दिनुभयो, “म जो हुँ भनी मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ। 26तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ, अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”
27उहाँले पिताको विषयमा भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्। 28त्यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ, र मैले आफ्नै तर्फबाट केही पनि नगर्ने रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दो रहेछु भनी तिमीहरूले थाहा पाउनेछौ। 29जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन; किनकि म सधैं उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।” 30उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्वास गरे।
अब्राहामका सन्तान
31येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने, तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ। 32तब तिमीहरूले सत्यतालाई चिन्नेछौ, अनि सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
33तिनीहरूले उहाँलाई भने, “तर हामी ता अब्राहामका सन्तान हौं, र कहिल्यै कसैको सेवक बनेका छैनौं। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौं भन्ने कुरा तपाईं कसरी भन्न सक्नुहुन्छ?”
34येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको एउटा सेवक हो। 35घरमा कुनै पनि सेवकको स्थायी स्थान हुँदैन, तर पुत्रचाहिँ सधैंभरि घरमा रहन्छन्। 36त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने, तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। 37तिमीहरू अब्राहामका सन्तान हौ, म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ; किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन। 38मैले मेरा पिताको उपस्थितिमा जे-जे देखें, सो तिमीहरूलाई भन्दैछु; तर तिमीहरूले चाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”
39तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुन्।”
येशूले भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ ता, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ। 40तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्चय गरेका छौ, जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्। 41तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।”
तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौं; हाम्रा एउटै मात्र पिता स्वयम् परमेश्वर नै हुनुहुन्छ।”
42येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूका पिता परमेश्वर हुनुहुँदो हो ता, तिमीहरूले मलाई प्रेम गर्नेथियौ; किनकि म परमेश्वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफै आएको होइनँ, तर मलाई परमेश्वरले पठाउनुभयो। 43मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्न सक्दैनौ। 44तिमीहरू ता तिमीहरूका पिता शैतानबाटका हौ, र तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन; किनकि त्यसमा केही सत्य छँदैछैन। झूटो बोल्नु ता त्यसको स्वभाव अनुसारको बोली हो; किनकि त्यो झूट हो, र झूटको पिता नै हो। 45किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्वास गर्दैनौ! 46के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? 47जो परमेश्वरबाटको हो, त्यसले परमेश्वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्नुको कारण यही हो कि, तिमीहरू परमेश्वरका होइनौ।”
आफ्नै विषयमा येशूको दाबी
48यहूदीहरूले येशूलाई जवाफ दिए, “के तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठीकै भनेका होइनौं र?”
49येशूले भन्नुभयो, “मलाई कुनै भूत लागेको छैन; तर म मेरा पिताको आदर गर्दछु, अनि तिमीहरू मेरो अनादर गर्दछौ। 50म आफ्नै महिमा खोज्दिनँ, तर महिमा खोज्नेचाहिँ एकजना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ। 51म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”
52अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे, तर तिमीलेचाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। 53के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, अनि त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”
54येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने, मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्वर भनी दाबी गर्दछौ, मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ। 55तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु, यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए, म पनि तिमीहरूसरह झूटो बन्ने थिएँ; तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। 56तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”
57यहूदीहरूले उहाँलाई भने, “तिमी आफै पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”
58येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अघिदेखि नै म छँदैछु!” 59यतिबेला तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्केर जानुभयो।
Currently Selected:
यूहन्ना 8: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.