यूहन्ना 20
20
रित्तो चिहान
1हप्ताको पहिलो दिन बिहान, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र चिहानको मुखको ढुङ्गा एकातिर पन्छ्याइएको भेट्टाइन्। 2तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र कहाँ राखेका छन्, हामीलाई थाहा भएन!”
3तब पत्रुस र अर्को चेला चिहानतिर दौडे। 4पत्रुसलाई उछिनेर अर्को चेला पहिले चिहानमा पुगे। 5तिनले निहुरेर भित्र हेरे र मलमलका कपडाका पट्टिहरू मात्र त्यहाँ रहिरहेको देखे, तर उनी भित्र पसेनन्। 6त्यसै बेला सिमोन पत्रुस आइपुगे, अनि चिहान भित्रै पसे। उनले मलमलको कपडा त्यहीं रहिरहेको देखे। 7शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे। 8आखिरमा चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे। 9(तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।) 10त्यसपछि चेलाहरू आ-आफ्ना घरमा गए।
येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुभएको
11तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्, 12अनि त्यहाँ सेतो लुगा पहिरेका दुईजना स्वर्गदूतहरूलाई येशूका शव राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्।
13ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?”
तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा भएनँ।” 14तब तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्थ्यो भनेर चाहिँ चिनिनन्।
15“हे नारी! तिमी किन रोइरहेकी छ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?”
तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको भए उहाँलाई कहाँ राख्नुभएको छ, भनिदिनुहोस्, र म उहाँलाई लैजानेछु।”
16येशूले तिनलाई भन्नुभयो, “मरियम।”
तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू।)
17येशूले भन्नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। तर बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जाँदैछु’ भन्ने समाचार भनिदेऊ।”
18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखें।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्नुभएको हो भनी तिनले भनिन्।
येशू चेलाहरूकहाँ देखा पर्नुभएको
19हप्ताको त्यो पहिलो दिनको साँझमा, चेलाहरू, यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू तिनीहरूका बीचमा आउनुभयो, र त्यहाँ उभिएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” 20यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए।
21येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाएझैं, म पनि तिमीहरूलाई पठाउँदैछु।” 22त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्नुभयो, “पवित्र आत्मा लेओ। 23यदि तिमीहरूले कसैको पाप क्षमा गर्यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने, ती क्षमा हुनेछैनन्।”
येशू थोमाकहाँ देखा पर्नुभएको
24बाह्र चेलाहरूमध्ये एकजना “दिदुमस” भन्ने थोमा येशू आउनुहुँदा त्यहाँ थिएनन्। 25“हामीले प्रभुलाई देख्यौं” भनेर अरू चेलाहरूले थोमालाई भने।
तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका चोट नदेखेसम्म, र मैले मेरा औंलाहरू त्यहाँ नहालेसम्म, अनि उहाँको कोखामा हात नराखेसम्म, म यो कुरा विश्वास गर्नेछैनँ।”
26एक हप्तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा, थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिएर उहाँले भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” 27त्यसपछि थोमालाई उहाँले भन्नुभयो, “तिम्रा औंलाहरू यहाँ राख, मेरा हातहरू हेर; र तिम्रा हात मेरा कोखामा राख। अबदेखि उसो, अविश्वासी नहोऊ, तर विश्वास गर।”
28थोमाले उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर!”
29त्यसपछि येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।”
यूहन्नाले लेखेका सुसमाचारको उद्देश्य
30येशूले आफ्ना चेलाहरूका अघि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। 31तर यो लेखिएको छ कि, तिमीहरूले येशू नै परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर; र विश्वास गरेको कारणले तिमीहरूले उहाँको नाउँमा जीवन प्राप्त गर्न सक।
Currently Selected:
यूहन्ना 20: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.