YouVersion Logo
Search Icon

यूहन्‍ना 16

16
1“तिमीहरू ठक्‍कर खाई तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ। 2अनि तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा एउटा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्‍वरलाई सेवा गरिरहेको छु भनी ठान्‍नेछ। 3तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्; किनकि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्। 4मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, कि जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ। 5अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। 6मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ। 7तर म तिमीहरूलाई साँचो भन्दछु: तिमीहरूको भलाइको निम्ति नै म जाँदैछु। म नगएसम्म सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। 8अनि उहाँ आउनुभएपछि, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ। 9पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्‍वास गर्दैनन्, 10धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ, 11र न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।
12“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्; 13तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्‍नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ। 14जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ। 15जे-जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
चेलाहरूको शोक आनन्दमा परिणत भएको
16“केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”
17उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्‍नुभएको अर्थ के हो?” 18तिनीहरूले “उहाँले ‘केही बेर’ भन्‍नुभएको अर्थ के हो? उहाँले के भन्दैहुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौं,” भनी सोधपुछ गरिरहे।
19तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्‍नुको अर्थ के होला भन्दै एकापसमा सोधपुछ गरिरहेका छौ? 20म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। 21बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्‍ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्। 22तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ, अनि कसैले पनि तिमीहरूको आनन्द खोस्‍नेछैन। 23अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरो नाउँमा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। 24अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्दपूर्ण हुनेछ।
25“म दृष्‍टान्तहरूमा बोलिरहेको छु, तर एउटा समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्‍टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्‍ट गरी भन्‍नेछु। 26त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति विन्ती गर्नेछु भनी भनेको होइनँ। 27पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्‍वरबाट आएको हुँ भनी विश्‍वास गरेका छौ। 28म पिताबाट आएँ, र संसारमा प्रवेश गरें; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।”
29त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्‍टसँग र दृष्‍टान्‍तविना नै बोल्दैहुनुहुन्छ। 30अब हामीले बुझ्न सक्यौं, कि तपाईं सबै कुरा जान्‍नुहुन्छ; अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि तपाईंको निम्ति छैन। यसै कुराले तपाईं परमेश्‍वरबाट आउनुभएको हो भनी हामीलाई विश्‍वास दिलाउँछ।”
31येशूले जवाफ दिनुभयो, “बल्‍ल तिमीहरूले विश्‍वास गर्दछौ? 32तर समय आइरहेको छ, वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्‍ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ, किनकि मेरा पिता मसँग हुनुहुन्छ।
33“ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in