याकोब 5
5
अत्याचारी धनीहरूलाई चेतावनी
1तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्ट आइरहेको छ। 2तिमीहरूको धन सडेको छ, र तिमीहरूका वस्त्रहरू कीराले खाएका छन्। 3तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैं खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धन साँच्दैछौ। 4हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूका विलाप सर्वशक्तिमान प्रभुको कानमा पुगेको छ। 5तिमीहरू यस संसारमा सुखविलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनका लागि आफैलाई पुष्टाइराखेका छौ। 6तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ।
कष्टहरूमा धैर्य
7त्यसो भए दाजुभाइ-दिदीबहिनीहरूहो, प्रभुको पुनःआगमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, अनि ऊ अघिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी बस्दछ। 8तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ। 9हे दाजुभाइ-दिदीबहिनीहरूहो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्र ता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!
10हे दाजुभाइ-दिदीबहिनीहरूहो, कष्टहरूका माझमा धैर्यको उदाहरणको लागि, प्रभुको नाउँमा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ। 11तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौं। तिमीहरूले अय्यूबको सहनशीलताको विषयमा सुनेका छौ, अनि प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ।#5:11 हे. अय्यूब 1:21; 2:10; 42:10-17 प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
12हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाउँमा, अथवा पृथ्वीको नाउँमा अथवा कुनै कुराको नाउँमा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्र ता तिमीहरू दोषी ठहरिनेछौ।
विश्वासको प्रार्थना
13के तिमीहरूमध्ये कोही सङ्कष्टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्। 14के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका प्रधानहरूलाई त्यसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरिदिन बोलाउनुपर्छ। 15अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले त्यसलाई उठाउनुहुनेछ। यदि त्यसले पाप गरेकै छ भने, त्यसले क्षमा पाउनेछ। 16यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनालाई एक-अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
17एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर व्यग्रसहित प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। 18तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, अनि पृथ्वीले आफ्ना अन्नहरू उब्जायो।
19हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने, 20यो याद होस्: जसले एकजना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, त्यसले त्यसलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।
Currently Selected:
याकोब 5: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.