YouVersion Logo
Search Icon

हिब्रूहरू 7

7
पूजाहारी मल्कीसेदेक
1यही नै मल्कीसेदेक, शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष दिए, 2अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नाउँको अर्थ “धार्मिकताका राजा” अनि त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो। 3मातापिताविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै तिनी परमेश्‍वरका पुत्रसमान सदाकाल पूजाहारी भइरहनेछन्।
4विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनीलाई युद्धमा जितेका मालबाट दशांश दिए! 5अब लेवी वंशबाट भएका पूजाहारीहरूले मात्र मानिसहरूबाट, तिनीहरूका सङ्गी इस्राएलीहरूबाट, दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामका सन्तानहरू हुन्; 6यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष दिए। 7अनि सानो व्यक्‍तिले ठूलो व्यक्‍तिबाट आशिष पाउँछन् भन्‍ने कुरामा कुनै शङ्का छैन। 8एकातिर दशांश ती लेवीहरूले लिन्छन्, जो मरेर जान्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जो सदा-सर्वदा जीवित घोषणा गरिनेछन्। 9अनि कसैले यसो पनि भन्‍न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए। 10किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।
येशू मल्कीसेदेकझैं
11परमेश्‍वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पूजाहारीपनद्वारा सिद्धता प्राप्‍त हुनसक्ने भए, किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पूजाहारी आउने आवश्यकता पर्‍यो? 12किनकि पूजाहारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ। 13जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पूजाहारी भएर वेदीको सेवा गरेन। 14किनकि यो स्पष्‍ट छ कि, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पूजाहारी हुने कुरा गरेकै छैनन्। 15यदि मल्कीसेदेकझैं अर्को पूजाहारी देखा परे भने ता हामीले जे भन्यौं, त्यो अझ स्पष्‍ट हुन्छ, 16उहाँ जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्‍तिको आधारमा पूजाहारी हुनुभयो। 17किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ:
“मल्कीसेदेकको दर्जाबमोजिम
तिमी सदा-सर्वदाको लागि एक पूजाहारी हौ।”#7:17 भजन 110:4
18अघिल्‍लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो; 19जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्‍वरको नजिक जान्छौं, किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
20अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पूजाहारी भए, 21तर उहाँ त शपथसहित पूजाहारी हुनुभयो, जब परमेश्‍वरले उहाँलाई भन्‍नुभयो:
“परमप्रभुले शपथ खानुभएको छ
अनि आफ्नो मन बदल्नुहुनेछैन:
‘तिमी सदा-सर्वदाको लागि पूजाहारी हौ।’ ”#7:21 भजन 110:4
22यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।
23अब धेरै पूजाहारीहरू भएर आए, तर मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको काम गरिरहन दिएन। 24तर येशूचाहिँ सधैं बाँचिरहनुहुने हुनाले उहाँको पूजाहारीपन अनन्तको लागि नै छ। 25यसकारण जतिजना उहाँद्वारा परमेश्‍वरमा आउँछन्, तिनीहरूलाई सदा-सर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूका मध्यस्थता गर्न उहाँ सधैं जिउनुहुन्छ।
26यस्ता प्रधान पूजाहारीले नै हाम्रा खाँचाहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्‍च पारिनुभएको छ। 27अरू प्रधान पूजाहारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, अनि मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकैपल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो। 28किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पूजाहारी नियुक्‍त गर्छ, तर व्यवस्थापछि आएको शपथले त परमेश्‍वरको पुत्रलाई नियुक्‍त गर्‍यो, जो सदा-सर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in