YouVersion Logo
Search Icon

गलाती 6

6
सबैलाई भलाइ गरौं
1हे दाजुभाइ-दिदीबहिनीहरूहो, यदि कुनै मानिस पापमा पक्राउ पर्‍यो भने, तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफै पनि होसियारी बस; नत्र ता तिमी पनि परीक्षामा परौला। 2एक-अर्काको बोझ उठाओ, र यसरी नै ख्रीष्‍टको व्यवस्था पूरा गर। 3यदि जसकसैले आफू केही नभए तापनि केही हौं भनी सोच्दछ भने तिनीहरूले आफूलाई धोका दिन्छन्। 4तिनीहरू सबैले आफ्नो कामको जाँच गर्नुपर्छ। तब तिनीहरूले आफूलाई अरू कसैसँग तुलना नगरीकन आफैमा गर्व गर्न सक्छन्। 5किनकि हरेक आफ्नो कार्यको आफै जिम्मेवार हुन्छ। 6तापनि जसले वचनको शिक्षा पाउँछ, आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ।
7धोखामा नपर: परमेश्‍वरसँग ठट्टा हुँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्नो शरीरको पाप-स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। 9हामी भलाइ गर्न नथाकौं; किनकि यदि हिम्मत हारेनौं भने हामीले ठीक समयमा फसल कटनी गर्नेछौं। 10यसकारण अवसर पाएअनुसार सबै मानिसहरूको भलाइ गर्दै जाऔं, विशेष गरी विश्‍वासीहरूको परिवारलाई भलाइ गरौं।
खतना होइन, तर नयाँ सृष्‍टि
11हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु।
12जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्‍टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिनलाई मात्र हो। 13खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्। 14मैले हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा मचाहिँ संसारको निम्ति र संसार मेरो निम्ति क्रूसमा टाँगिएको छ। 15खतना होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ। 16यो नियम पालन गर्ने सबैलाई र परमेश्‍वरको इस्राएललाई शान्ति र कृपा।
17अन्त्यमा, अबदेखि उसो कसैले मलाई कष्‍टमा नपारोस्, किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु।
18दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन!

Currently Selected:

गलाती 6: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in