YouVersion Logo
Search Icon

प्रेरित 25

25
पावल फेस्तसका सामु
1त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए। 2त्यहाँ मुख्य पूजाहारी र यहूदी अगुवाहरू तिनका सामु आएर पावलका विरुद्ध आरोपहरू लगाए। 3तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे; किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए। 4फेस्तसले तिनीहरूका अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफै त्यहाँ छिट्टै गइरहेको छु। 5तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीं आरोपहरू लगाऊन्।”
6दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए। 7जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए, र उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्।
8त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्‍न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।”
9यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने के तिमी त्यहाँ जान चाहन्छौ?”
10पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीं नै हुनुपर्दछ। तपाईंहरू आफैलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ। 11यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ, तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।”
12आफ्नो सभासँग सल्‍लाह गरेपछि, फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।”
राजा अग्रिपासँग फेस्तसको सल्‍लाह
13त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए। 14तिनीहरू त्यहाँ धेरै दिन बस्‍ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाइएको एकजना मानिस यहाँ छ। 15म यरूशलेममा गएका बेलामा मुख्य पूजाहारीहरू र यहूदीहरूका प्रधानहरूले यस विरुद्धमा थुप्रै आरोपहरू लगाई उसलाई दण्ड दिइयोस् भनी माग गरे।
16“त्यस बेला मैले तिनीहरूलाई भनें, कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई त्यो मानिस सुम्पने प्रथा रोमी व्यवस्थामा छैन। 17जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्‍नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ। 18जब उसका आरोपीहरू उभिएर बोल्न थाले, मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्। 19त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नाउँको एकजना मरेको व्यक्‍ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो। 20यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेको हुनाले; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधें। 21तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्‍ने उजुर गरेकोले त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।”
22यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफै सुन्‍न चाहन्छु।”
उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्‍नुहुनेछ।”
राजा अग्रिपाको समक्ष पावल
23भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्‍च अधिकृतहरू र शहरका प्रमुख व्यक्‍तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए। 24त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरूहो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्। 25यसले ज्यान मारिन लायकको सजाय पाउनेजस्तो केही गरेको म पाउँदिनँ, तर यसले सम्राट सामु उजुर गरेको हुनाले मैले उसलाई रोम पठाउने निर्णय गरें। 26तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरो मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु। 27किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्‍लेख नगरी त्यसै रोम पठाउनु ठीक छैन।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in