हिब्रूहरूको निम्ति पत्र 10
10
ख्रीष्टको बलिदानले हामीलाई पूर्ण बनाउँछ
1व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँच्चो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढ़ाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढ़ाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन। 2व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन। 3यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ। 4किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
5तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो,
“तपाईं बलि र भेटीहरू चाहनुहुन्न,
तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
6बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न।
पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
7तब मैले भने, ‘परमेश्वर म यहाँ छु,
व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ।
तपाईले चाहेको काम गर्न म आएको छु।’”#भजन 40:6-8
8उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहान्छ। 9त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ। 10येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
11प्रत्येक दिन, पूजाहारीहरू खड़ा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्। 12तर ख्रीष्टले पापको निम्ति सँघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो। 13अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ। 14एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
15पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ,
16“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु।
म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु।
म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।”#यर्मिया 31:33
17तब उहाँ भन्नुहुन्छ:
“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,
र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”#यर्मिया 31:34
18अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
परमेश्वरको नजिक आऊ
19यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। 20अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो। 21जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। 22शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। 23हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
विश्वासमा दृढ हौ र एकअर्कालाई सघाऊ
24हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। 25हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन#10:25 गर्नुपर्छ किनकि दिन अथवा त्यो दिन जुन दिन ख्रीष्ट सबै मानिसहरूलाई न्याय गर्न आउनु हुनेछ अनि आफ्नो मानिसहरूलाई उहाँसँगै बस्न लिएर जानुहुनेछ। अझै नजिक-नजिक आउँदै छ।
ख्रीष्टबाट मुख नफर्काऊ
26सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन। 27यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ। 28यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो। 29जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो। 30हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”#व्यवस्था 32:35 परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”#व्यवस्था 32:36 31जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
आफूसित भएको उत्साह र आनन्द नगुमाऊ
32ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। 33कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। 34हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। 36तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। 37चाँडै नै,
“जो आउनु हुँदैछ आउनुँ नै हुनेछ।
उहाँले विलम्ब गर्नु हुनेछैन।
38जो अहिले मसित धर्मी छ,
उसको विश्वासको कारणले जीवन पाउने छ।
तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने,
म उसित प्रसन्न रहनेछैनँ।”#हबकूक 2:3-4
39तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।
Currently Selected:
हिब्रूहरूको निम्ति पत्र 10: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International