उत्पत्तिको पुस्तक 22
22
अब्राहाम, तेरो छोरोलाई मार
1ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”
अनि अब्राहामले भने, “हजुर!”
2तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
3बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। 4तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। 5त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”
6अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।
7इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!”
अब्राहामले उत्तर दिए, “भन, छोरा।”
इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?”
8अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”
यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। 9तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे। 10तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।
11तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!”
अब्राहामले उत्तर दिए, “हजूर।”
12स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”
13तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेंडाको पाठाको सींङ पोथ्रामा अड्किएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए। 14यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देख्न सकिन्छ।”
15परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। 16ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु। 17म तिमीलाई साँच्चो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्। 18अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”
19त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।
20तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए। 21तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्। 22तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए।” 23बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए। 24नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।
Currently Selected:
उत्पत्तिको पुस्तक 22: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International