तिमोथीलाईर् पावलको पहिलो पत्र 4
4
झूटा शिक्षकहरू बारे सावधान
1पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्। 2यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ। 3ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्। 4पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। 5परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।
ख्रीष्ट येशूको असल सेवक बन
6यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुशरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ। 7मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। 8शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। 9मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। 10त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
11यिनै कुराहरूका आदेश र शिक्षा देऊ। 12तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
13म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। 14तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। 15यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। 16आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
Currently Selected:
तिमोथीलाईर् पावलको पहिलो पत्र 4: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International