भजनसंग्रह 77
77
सङ्कष्टको समयमा सान्त्वना
1म परमेश्वरकहाँ ठूलो स्वरले पुकारा गर्दछु,
ठूलो स्वरले पुकारा गर्दछु र उहाँले मलाई सुन्नुहुन्छ।
2कष्टको समयमा म परमप्रभुलाई प्रार्थना गर्दछु,
रातभरि म प्रार्थनामा आफ्ना हात उचाल्दछु,
तर मैले केही सान्त्वना पाउँदिनँ।
3जब म परमेश्वरबारे सोच्दछु, मैले सुस्केरा मार्दछु,
जब म ध्यानमा बस्दछु, म निरुत्साहित हुन्छु।
4उहाँले मलाई रातभरि जागो राख्नुहुन्छ,
म यति चिन्तित छु कि म बोल्न समेत सक्दिनँ।
5म बितेको दिनबारे सोच्दछु,
धेरै अघिका वर्षहरू याद गर्दछु।
6म गहिरो सोचमा परेर रात बिताउँछु;
म ध्यानमा बस्दछु र म आफैंलाई यो सोध्दछु:
7“के प्रभुले हामीलाई सधैँ अस्वीकार गर्नुहुनेछ?
के उहाँ फेरि हामीसँग कहिल्यै खुसी हुनुहुन्न?
8के उहाँले हामीलाई प्रेम गर्न छोड्नुभयो?
के अब उहाँको प्रतिज्ञा रहनेछैन?
9के परमेश्वरले दयामाया गर्न छोड्नुभयो?
के उहाँका मायाको सट्टामा अब क्रोध रहेको छ?”
10तब मैले भनें, “अब परमेश्वरमा सामर्थ्य नै रहेनछ भन्ने कुराले
मलाई सबैभन्दा दु:ख दिन्छ।”
11हे परमप्रभु! म तपाईंका महान् कार्यहरू सम्झनेछु,
बितेका समयमा तपाईंले गर्नुभएको आश्चर्य कामहरू याद गर्नेछु।
12तपाईंले गर्नुभएका सबै कुराबारे म सोच्नेछु,
तपाईंका सबै सामर्थी कामहरूमा ध्यान गर्नेछु।
13हे परमेश्वर! तपाईंले गर्नुभएको सबै काम पवित्र छन्,
तपाईंजस्तो महान् परमेश्वर अरू कोही छैन।
14तपाईं आश्चर्यकर्म गर्नुहुने परमेश्वर हुनुहुन्छ,
जाति-जातिको बीचमा तपाईंले आफ्ना सामर्थ्य देखाउनुभयो।
15आफ्ना शक्तिले तपाईंले आफ्ना प्रजालाई बचाउनुभयो,
याकूब र योसेफका सन्तानलाई बचाउनुभयो।
16हे परमेश्वर! तपाईंलाई देखेर महासागरहरू डराए,
समुद्रका गहिराइहरू हल्लिए।
17बादलले पानी बर्सायो;
आकाशमा चट्याङ्ग पड्क्यो
र चारैतिर बिजुली चम्क्यो।
18चट्याङ्गका गर्जन आकाशभरि फैलियो,
बिजुली चम्केकाले चारैदिशा उज्यालो पार्यो,
पृथ्वीमा भूइँचालो गयो र हल्लियो।
19पानीका भलमा हिँडेर तपाईंले गहिरो समुद्रपार गर्नुभयो,
तर तपाईंका पैतालाका छाप कतै देखिएनन्।
20मोशा र हारूनलाई जिम्मा दिएर
गोठालाले झैँ तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो।
Currently Selected:
भजनसंग्रह 77: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.