भजनसंग्रह 74
74
देशको सुरक्षाको निम्ति प्रार्थना
1हे परमेश्वर, किन तपाईंले हामीलाई यसरी त्याग्नुभयो?
के सधैँभरि आफ्नो प्रजासँग तपाईं रिसाउनुहुन्छ?
2तपाईंले धेरै समयअघि आफ्नै लागि चुन्नुभएको प्रजा,
जसलाई तपाईंले दासत्वबाट छुटाएर आफ्नो जाति बनाउनुभयो,
तिनीहरूलाई याद गर्नुहोस्, तपाईं एकपल्ट बास गर्नुभएको सियोन पहाडलाई सम्झनुहोस्।
3हाम्रा शत्रुहरूले मन्दिरमा भएका सबै कुरा नष्ट गरेका छन्,
तपाईं यी सबै ध्वंस भएका चीजबीजमाथि हिँड्नुहोस्।
4शत्रुहरूले तपाईंको मन्दिरमा विजयको स्वर उचालेका छन्;
त्यहाँ आफूले गरेको विजय देखाउन तिनीहरूले आफ्ना झन्डा गाडेका छन्।
5बन्चरोले रूख काट्दै गरेका
दाउरेहरूजस्ता तिनीहरू देखा पर्थे,
6आफ्ना बन्चरो र ठूला घनहरूले काठका सारा बुट्टादार काम
तिनीहरूले टुक्रा-टुक्रा पारे।
7तिनीहरूले तपाईंको मन्दिर भत्काए र आगो लाइदिए,
तपाईंको आराधना गरिने ठाउँ तिनीहरूले अपवित्र गरे।
8देशमा भएका सबै पवित्रस्थानहरू तिनीहरूले डढाएर भस्म पारे,
तिनीहरूले हामीलाई पूरै चुर-चुर गर्न चाहे।
9हाम्रा सबै पवित्र थोकहरू फ्याँकिएका छन्,
कुनै अगमवक्ता बाँचेका छैनन्,
कहिलेसम्म यो अवस्था रहने हो, कसैले जान्दैनन्।
10हे परमेश्वर, कहिलेसम्म हाम्रा शत्रुहरू तपाईंमाथि हाँस्नेछन्?
के सधैँ तिनीहरूले तपाईंको नामको अपमान गर्ने हुन्?
11किन हाम्रो सहायता गर्न छोड्नुभयो?
किन आफ्ना हात पछिपट्टि बाँधी राख्नुहुन्छ?
12हे परमेश्वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ;
धेरैपल्ट तपाईंले हामीलाई बचाउनुभएको छ।
13 #
प्रस्थान 14:21
तपाईंले आफ्नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो
र समुद्रका डरलाग्दा जन्तुहरूका टाउका चुर-चुर पार्नुभयो।
14 #
अय्यूब 41:1; भजनसंग्रह 104:26; यशैया 27:1 तपाईंले पानीको भयानक जन्तु लिव्यातनका टाउकाहरू चूरचूर पार्नुभयो,
त्यसको शरीर तपाईंले मरुभूमिका जन्तुहरूलाई खान दिनुभयो।
15तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो
र ठूला-ठूला नदीहरू सुकाउनुभयो।
16तपाईंले रात र दिनलाई बनाउनुभयो
र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्नुभयो।
17तपाईंले पृथ्वीका सिमाना बाँध्नुभयो
र गर्मी र ठन्डाका ऋतुहरू बनाउनुभयो।
18तर याद राख्नुहोस्, हे परमेश्वर, तपाईंका बैरीहरू तपाईंमाथि हाँस्छन्,
तिनीहरूले परमेश्वर मान्दैनन् र तपाईंलाई घिन गर्छन्।
19आफ्ना असहाय प्रजालाई तिनीहरूका निष्ठुरी बैरीका हातमा नछोड्नुहोस्,
सतावटमा परेका आफ्ना प्रजालाई नभुल्नुहोस्।
20तपाईंले हामीसँग बाँध्नुभएको करार सम्झनुहोस्।
देशका हरेक अँध्यारो कुनामा हिँसा छ।
21सताइएकाहरूलाई लाजमा पर्न नदिनुहोस्,
ती गरीब र अभावमा परेका मानिसहरूले तपाईंको प्रशंसा गरून्।
22हे परमेश्वर उठ्नुहोस् र आफ्नो कामको रक्षा गर्नुहोस्,
याद राख्नुहोस् कि ईश्वर नमान्नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्छन्।
23आफ्ना बैरीहरूका रिसका आवाज
र तिनीहरूले गरिरहेका हल्ला नभुल्नुहोस्।
Currently Selected:
भजनसंग्रह 74: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.