मर्कूस 6
6
नासरतमा येशूलाई अविश्वास
(मत्ती १३:५३-५८; लूका ४:१६-३०)
1त्यो ठाउँ छोडेर येशू आफू हुर्केको सहर नासरतमा जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए। 2विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्ने धेरै मानिसहरूले छक्क पर्दै आपसमा यसरी कुरा गर्न लागे, “यसले यी कुराहरू कहाँबाट सिक्यो हँ? कस्तो बुद्धि पाएछ! कसरी यस्ता अचम्मका कामहरू गर्न सक्छ? 3यो त्यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन्। 4#यूहन्ना 4:44अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घरका मानिसहरूले भने वास्तै गर्दैनन्।” 5त्यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्मका कामहरू गर्न सक्नुभएन। 6आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो।
चेलाहरूलाई प्रचार गर्न पठाउनुभएको
(मत्ती १०:५-१५; लूका ९:१-६)
येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो। 7त्यति बेला उहाँले आफूले छान्नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा 8यसो भन्दै पठाउनुभयो, “टेक्ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक।
9जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।” 10उहाँले तिनीहरूलाई अझै भन्दैजानुभयो, “कुनै गाउँमा पुग्दा जुन घरमा पस्छौ, त्यो गाउँ नछोडुञ्जेलसम्म त्यही घरमा बस्नू। 11#प्रेरित 13:51#लूका 10:4-11अनि कुनै ठाउँमा पुग्दा मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् र तिमीहरूका कुरा सुन्न मानेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिंदै पैतालाको धुलो त्यहीं टक्टक्याएर त्यो गाउँ छोडिदेओ।”
12त्यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले। 13#याकूब 5:14तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे।
बप्तिस्मा दिने यूहन्नाको मृत्यु
(मत्ती १४:१-१२; लूका ९:७-९)
14 #
मत्ती 16:14; मर्कूस 8:28; लूका 9:19 येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्दै थिए, “बप्तिस्मा दिने यूहन्ना मरेकोबाट बिउँतेछन्, त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्!” 15कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्किएछन्,” भन्थे। 16यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!”
17 #
लूका 3:19,20 त्यसको केही समय पहिले हेरोदले यूहन्नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्नै भाइ फिलिपकी स्वास्नी हेरोदियासलाई ल्याएर राखेका थिए। 18अनि बप्तिस्मा दिने यूहन्नाले “भाइकी स्वास्नी यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाइरहन्थे।
19त्यसो हुँदा हेरोदियासलाई यूहन्नासँग रिस उठेको थियो। तिनी यूहन्नालाई मार्न चाहन्थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन् 20किनभने यूहन्ना धर्मात्मा र पवित्र मानिस हुन् भन्ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्नालाई बचाइराखे। हेरोदले यूहन्नाको कुरा सुन्दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्न मन पराउँथे।
21आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्यो। हेरोदले आफ्नो जन्मदिनमा ठूलो भोज लगाएका थिए। त्यस भोजमा उनले आफ्ना भारदार, फौजी कप्तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्त्याएका थिए।
22त्यस भोजमा हेरोदियासकी छोरी आएर नाचिन्। उसको नाच देखेर राजा र उनका पाहुनाहरू सबै खुसी भए। अनि राजाले उसलाई भने, “म तिमीलाई के दिऊँ?
जे मागे पनि म त्यही दिनेछु।” 23फेरि राजाले शपथ खाँदै भने, “आधा राज्य नै मागे पनि म तिमीलाई दिन्छु।” 24तब हेरोदियासकी छोरीले आमाकहाँ गएर सोधी, “आमा, म के मागूँ?” “बप्तिस्मा दिने यूहन्नाको टाउको माग!” आमाले भनिन्।
25त्यो केटी झट्टै राजाकहाँ गएर भनी, “मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।” 26यो सुनेर राजा ज्यादै चिन्तामा परे। तर त्यतिका पाहुनाहरूको अगाडि शपथ खाएर दिन्छु भनेको हुनाले फेरि दिन्न भन्न सकेनन्।
27त्यसकारण उनले ‘यूहन्नाको टाउको काटेर ल्याउनू’ भनेर आफ्नो सिपाहीलाई हुकुम दिए। सिपाहीले झ्यालखानमा गएर यूहन्नाको टाउको काट्यो 28र थालमा राखेर केटीकहाँ पुर्यायो। केटीले त्यो लगेर आफ्नी आमालाई दिई।
29यो कुरा सुनेर यूहन्नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए।
येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभएको
(मत्ती १४:१३-२१; लूका ९:१०-१७; यूहन्ना ६:१-१४)
30बाह्र जना चेलाहरू फर्केर येशूकहाँ जम्मा भई आफूले गरेका र सिकाएका सबै कुराहरू उहाँलाई सुनाए। 31अनि येशूले तिनीहरूलाई भन्नुभयो, “हामी एकान्त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्म पनि फुर्सद भएन। 32त्यसकारण उहाँहरू नाउमा चढेर एकान्त ठाउँमा जानुभयो।
33तर मानिसहरूले उहाँहरूलाई जाँदैगरेको देखे र धेरैले उहाँहरू जान लागेको ठाउँ थाहा पाए। अनि मानिसहरू सहरहरूबाट दगुर्दै उहाँहरूभन्दा पहिले नै त्यहाँ पुगे। 34#गन्ती 27:17; १ राजा 22:17; २ इतिहास 18:16; इजकिएल 34:5; मत्ती 9:36येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्नुभयो।
35साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्यो र एकान्त ठाउँ छ। 36यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउको गाउँमा गएर केही किनेर खाऊन्।” 37येशूले भन्नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्नुहुन्छ?” 38येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!”
39त्यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो। 40मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे। 41अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। त्यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। 42अनि सबैले अघाउञ्जेल खाए। 43चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्दा त बाह्र डाला जति भरिए। 44त्यहाँ खाने लोग्ने मानिसहरू मात्रै पाँच हजार थिए।
येशू पानीमाथि हिंड्नुभएको
(मत्ती १४:२२-३६; यूहन्ना ६:१५-२१)
45झट्टै येशूले चेलाहरूलाई नाउमा चढाएर तालपारि बेथसेदा गाउँमा पठाउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न त्यहीं बस्नुभयो। 46तिनीहरूलाई बिदा गरिसक्नुभएपछि उहाँ प्रार्थना गर्न डाँडामा उक्लनुभयो। 47रात पर्यो। नाउ समुद्रको निकै पर पुगेको थियो। येशूचाहिँ एक्लै किनारमा हुनुहुन्थ्यो। 48बतास विपरीत दिशाबाट चलेको हुनाले आफ्ना चेलाहरूलाई नाउ चलाउन आपत् परेको येशूले देख्नुभयो।
बिहानीपख झिसमिसेमा येशू पानीमाथि हिंडेर चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँ नाउलाई उछिनेर जान लाग्नुभएको थियो। 49उहाँलाई पानीमाथि नै हिंडिरहनुभएको देख्दा चेलाहरू “भूत आयो!” भनेर चिच्च्याउन थाले। 50तिनीहरू सबै उहाँलाई देखेर डराए। अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर!” 51त्यसपछि उहाँ नाउमा चढ्नुभयो र बतास पनि थामिहाल्यो। यो देखेर चेलाहरू झन् छक्कै परे। 52येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्यसको पूरा अर्थ बुझ्न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो।
53येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो। 54नाउबाट ओर्लिनासाथ मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले। 55त्यसकारण तिनीहरूले चारैतिर दगुर्दै गएर येशू आउनुभयो भन्ने खबर फैलाए। अनि मानिसहरूले बिरामीहरूलाई बोकेर येशूकहाँ ल्याउन थाले। 56गाउँ, सहर, बस्ती, जहाँ-जहाँ येशू जानुहुन्थ्यो, त्यहीं-त्यहीं मानिसहरूले बिरामीहरू बोकेर ल्याउँथे। तिनीहरूले “ती बिरामीहरूलाई आफ्नो लुगाको छेउमा मात्र भए पनि छुन दिनुहोस्,” भनेर बिन्ती गर्थे अनि उहाँको लुगा छुने जति सबै जना निको भइहाल्थे।
Currently Selected:
मर्कूस 6: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.