मत्ती 21
21
यरूशलेममा येशूलाई आदरपूर्वक स्वागत गरिएको
(मर्कूस ११:१-११; लूका १९:२८-४०; यूहन्ना १२:१२-१९)
1यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्ने ठाउँमा आइपुग्नुभयो। त्यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, 2“तिमीहरू ऊ त्यो पल्लो गाउँमा जाओ। गाउँमा पस्नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। 3यदि कसैले तिमीहरूलाई केही कुरा भन्यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्छन्।”
4अगमवक्ताले धर्मशास्त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्तो हुन आएको हो–
5 #
जकरिया 9:9
“सियोनका बासिन्दाहरूलाई भनिदेओ,
‘हेर, अब तिमीहरूका महाराजा तिमीहरूकहाँ आउँदै हुनुहुन्छ,
उहाँ नम्र भएर गधामा चढेर आउँदै हुनुहुन्छ,
उहाँको सवारी गधाकै बछेडामाथि हुँदै छ’।”
6ती दुई चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे। 7तिनीहरूले गधाको बछेडा माउसँगै लिएर आए र तिनका पिठमा आ-आफ्ना खास्टो ओछ्याइदिए अनि येशू चढ्नुभयो। 8मानिसहरूले आ-आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्याउलाहरू ल्याएर बाटोमा ओछ्याइदिए। 9#भजनसंग्रह 118:25,26येशूको अघि र पछि हिँड्ने सबै मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ! सबैभन्दा माथि स्वर्गमा हुनुहुने परमेश्वरको जयजयकार होस्!”
10उहाँ यरूशलेममा पस्नुहुँदा सहरभरि नै हलचल मच्चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” 11धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्छ।”
येशू मन्दिरमा जानुभएको
(मर्कूस ११:१५-१९; लूका १९:४५-४८; यूहन्ना २:१३-२२)
12येशू पवित्र मन्दिरमा जानुभयो अनि त्यहाँ किनबेच गरेर बस्नेहरू सबैलाई मन्दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका बस्ने आसनहरू पल्टाइदिनुभयो। 13#यशैया 56:7; यर्मिया 7:11अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”
14त्यसपछि अन्धा र लङ्गडाहरू मन्दिरमा येशूकहाँ आए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। 15यी अचम्मका कामहरू देखेर र मन्दिरमा केटा-केटीहरूले कराउँदै “दाऊद पुत्रको जय होस्!” भनेको सुनेर मुख्य पूजाहारी र धर्म-गुरुहरू रिसाए। 16#भजनसंग्रह 8:2तिनीहरूले येशूलाई भने, “यी केटा-केटीहरूले के भनिरहेका छन्, तपाईंले सुन्नुहुन्न?” “सुन्दै छु, तर ‘हे प्रभु, केटा-केटी र बालकहरूलाई समेत तपाईंले प्रशंसा गर्न लगाउनुभएको छ’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूले पढेका छैनौ?” येशूले जवाफ दिनुभयो। 17अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्की बेथानिया गाउँमा जानुभयो र राती त्यहीँ नै बास बस्नुभयो।
फल नभएको नेभाराको रूख
(मर्कूस ११:१२-१४,२०-२४)
18भोलिपल्ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्यो। 19बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्यस रूखको नजिक जानुभयो, तर त्यसमा पातबाहेक केही थिएन। उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँमा कहिल्यै पनि फल नफलोस्।” त्यो नेभाराको रूख त त्यतिखेरै सुकिहाल्यो।
20यो देखेर चेलाहरूले छक्क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्यो?” 21#मत्ती 17:20; १ कोरिन्थी 13:2येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्वास गर्यौ भने नेभाराको रूखलाई मैले गरेजस्तै गर्न सक्छौ र त्यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ। 22यदि विश्वास गर्यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्यो पाउनेछौ।”
येशूको अधिकारको बारेमा प्रश्न
(मर्कूस ११:२७-३३; लूका २०:१-८)
23येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। त्यस बेला मुख्य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” 24येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ दियौ भने मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु। 25लौ भन, यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले यूहन्नालाई किन विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। 26यदि मानिसबाट भनौं भने हामीहरूलाई मानिसहरूले मार्ने डर हुन्छ किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्छन्।”
27यसकारण तिनीहरूले येशूलाई भने, “खै, हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।”
दुई छोरा
28अनि येशूले अझै भन्नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’। 29‘म त जान्नँ!’ उसले बुबालाई भन्यो। तर पछि उसको मन फेरियो र काममा गयो। 30अनि बुबाले गएर अर्को छोरालाई पनि त्यसै भने। ‘हुन्छ, बुबा!’ त्यसले भन्यो। तर काममा चाहिँ गएन। 31अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कर उठाउने र वेश्याहरू त तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यमा पस्छन् 32#लूका 3:12; 7:29,30किनभने बप्तिस्मा दिने यूहन्ना सत्य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्वास गरेनौ। बरु कर उठाउने र वेश्याहरूले चाहिँ विश्वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ र उनलाई विश्वास गरेनौ।”
दाखबारी र मोहीहरू
(मर्कूस १२:१-१२; लूका २०:९-१९)
33 #
यशैया 5:1,2 येशूले भन्नुभयो, “लौ अब तिमीहरू दृष्टान्तको रूपमा अर्को एउटा कथा सुन। एक समयमा एक जना जमिनदार थिए। उनले दाखबारी लगाए, चारैतिर बारे अनि दाख पेल्न कोल र बारी कुर्न छाप्रो बनाइदिए। उनले त्यो बारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे। 34दाखबारी थन्क्याउने बेला भएपछि उनले आफ्ना नोकरहरूलाई आफ्नो भागमा आउने दाख लिन मोहीहरूकहाँ पठाए। 35तर ती मोहीहरू मिलेर नोकरहरूमाथि जाइलागे, कसैलाई पिटे, कसैलाई ढुङ्गाले हाने अनि कसैलाई चाहिँ मारि नै दिए। 36फेरि जमिनदारले पहिलेका भन्दा धेरै नोकरहरू मोहीहरूकहाँ पठाए। तर तिनीहरूलाई पनि मोहीहरूले पहिलेकाहरूलाई जस्तै गरे।
37“आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्कै नै आदर गर्नेछन्’ भन्ने ठानेर आफ्नै छोरालाई नै मोहीहरूकहाँ पठाए। 38तर ती मोहीहरूले छोरोचाहिँ लाई देख्नासाथ मतो गरेर भने, ‘लौ, त्यो त जमिनदारकै छोरो हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति आफ्नो पारौं।’ 39यसो भनेर तिनीहरूले उसलाई पक्रेर बारीबाट घोक्र्याउँदै बाहिर लगी मारे।
40“लौ भन, अब बारीका मालिकले आएर ती दुष्ट मोहीहरूलाई के गर्लान् त?” येशूले सोध्नुभयो। 41तिनीहरूले जवाफ दिए, “तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् अनि आफूले पाउनुपर्ने भाग ठीकसँग दिने मोहीहरूलाई त्यो बारी कमाउन दिनेछन्।” 42#भजनसंग्रह 118:22,23तब येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा पढेका छैनौ?–
डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै
घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा बन्न आयो।
त्यस्तो त प्रभु परमेश्वर आफैंले हुन दिनुभएको हो,
यो कति अचम्मको काम रहेछ!
43“त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य अब तिमीहरूबाट खोसेर फल फलाउने अर्को एक जातिलाई दिइनेछ। 44त्यस ढुङ्गामाथि बजारिने सबै चकनाचुर हुनेछन् अनि कसैमाथि त्यो ढुङ्गा बजारियो भने ऊ धुलोपिठो हुनेछ।”
45येशूले भन्नुभएका यी दृष्टान्तहरू सुनेर मुख्य पूजाहारी र फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले यो कुरा आफूहरूलाई नै भनेको हो भनी बुझे। 46त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर तिनीहरू मानिसहरूदेखि डराए किनभने मानिसहरूले येशूलाई अगमवक्ता हुन् भनेर मान्थे।
Currently Selected:
मत्ती 21: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.