यशैया 49
49
जाति-जातिहरूको ज्योति इस्राएल
1 #
यर्मिया 1:5
हे टापुहरू, टाढामा बास गर्ने जातिहरू हो,
मेरो कुरा सुन!
म जन्मनुअघि परमप्रभुले मलाई चुन्नुभयो
र आफ्नो सेवक नियुक्त गर्नुभयो।
2 #
हिब्रू 4:12; प्रकाश 1:16 उहाँले मेरा वचन तरवारझैँ धारिला बनाउनुभयो,
उहाँले मेरो रक्षा आफ्नै हातले गर्नुभयो।
उहाँले प्रहार गर्न तयार पारेको अति तीखो काँडझैँ मलाई बनाउनुभयो।
3उहाँले मलाई भन्नुभयो,
“ए इस्राएल, तँ मेरो सेवक होस्,
तेरो कारणले मलाई मानिसहरूले प्रशंसा गर्नेछन्।”
4मैले भनें, “मैले काम त गरें,
तर ती काम व्यर्थका भए!”
मैले आफ्नो सारा शक्ति लगाएँ तर केही सफलता पाइनँ।”
तरै पनि जे मैले पाउनुपर्छ, त्यो परमप्रभुसँग छ
र मेरो कामको प्रतिफल उहाँले दिनुहुनेछ।
5आमाको गर्भमा नै परमप्रभुले मलाई रचना गर्नुभयो।
आफ्ना प्रजा अर्थात् इस्राएलका छरपष्ट भएका मानिसहरूलाई फर्काई ल्याउन
उहाँले आफ्नो सेवक खटाउनुभयो।
परमप्रभुले मलाई आदर दिनुहुन्छ,
उहाँ मेरा बलको स्रोत हुनुहुन्छ।
6 #
यशैया 42:6; लूका 2:32; प्रेरित 26:23;
प्रेरित 13:47
परमप्रभुले मलाई भन्नुभयो,
“ए मेरा सेवक, तेरो लागि एउटा अझ ठूलो काम छ।
तैँले इस्राएलका बाँचेका मानिसहरूलाई फेरि फर्काई ल्याउनेछस्;
त्यति मात्र होइन, म तँलाई जाति-जातिका बीचमा एउटा ज्योति पनि बनाउनेछु
र सारा संसारमा तैँले मेरो उद्धार पुर्याउनेछस्।”
7शासकहरूको सेवक, जसलाई तुच्छ ठानेका छन्
र जाति-जातिहरूले घृणा गरेका छन्,
त्यसलाई इस्राएलका पवित्र परमेश्वर र उद्धारकर्ता यसो भन्नुहुन्छ,
“राजाहरूले तँलाई देख्नेछन्
र आदर दिनलाई खडा हुनेछन्।
राजकुमारहरूले पनि तँलाई देख्नेछन्
र निहुरिएर तँलाई आदर गर्नेछन्
किनभने परमप्रभुले आफ्नो सेवकलाई चुन्नुभएको छ
र इस्राएलका पवित्र परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।”
यरूशलेमको पुनर्स्थापन
8 #
२ कोरिन्थी 6:2
परमप्रभु भन्नुहुन्छ,
“निगाहको समयमा म तँलाई जवाफ दिनेछु
र उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु।
देश पुनर्स्थापित गर्न
र त्यसको उजाड पारेको पैतृक धन-सम्पत्ति फेरि अधिकारमा ल्याउन
म तँलाई जोगाइराख्नेछु
र तँद्वारा मानिसहरूसित एउटा करार बाँध्नेछु।
9कैदीहरूलाई म यसो भन्नेछु,
“तिमीहरू फुक्का भयौ र अब जाओ!”
अन्धकारमा भएकाहरूलाई म भन्नेछु,
“उज्यालोमा आओ!”
तिनीहरू डाँडाहरूमा चर्ने भेडाहरूझैँ हुनेछन्।
10 #
प्रकाश 7:16,17 तिनीहरू कहिल्यै भोका र प्यासा हुनेछैनन्।
घाम र मरुभूमिको चौपट्टै गर्मीले तिनीहरूको केही हानि गर्नेछैन
किनभने तिनीहरूलाई माया गर्नुहुनेले तिनीहरूलाई डोर्याउनुहुनेछ।
उहाँले तिनीहरूलाई पानीका फोहोरामा डोर्याई लैजानुहुनेछ।
11“पर्वतहरू वारपार गरी म एउटा राजमार्ग बनाउनेछु
र मेरा मानिसहरू हिँड्न एउटा मूलबाटो तयार पार्नेछु।
12टाढा-टाढाबाट, उत्तर र पश्चिम दिशाबाट
र दक्षिणमा आश्वानबाट मेरा मानिसहरू आउनेछन्।”
13हे आकाश गीत गाऊ! हे पृथ्वी आनन्दले सोर उठाऊ!
पर्वतहरूले गला खोलेर गीत गाऊन्! परमप्रभुले आफ्ना कष्ट पाएका प्रजामाथि कृपा गर्नुहुनेछ
र तिनीहरूलाई सान्त्वना दिनुहुनेछ।
14तर यरूशलेमका मानिसहरूले भने:
“परमप्रभुले हामीलाई त्याग्नुभएको छ!
उहाँले हामीलाई बिर्सनुभएको छ।
15यसकारण परमप्रभुले यस्तो उत्तर दिनुहुन्छ:
“के आमाले आफ्नो दूधेबालकलाई भुल्न सक्छे?
र आफूले जन्माएका बालकलाई माया गर्न छोड्छे?
तर आमाले आफ्नो बालकलाई भुले पनि
म तिमीहरूलाई कहिल्यै भुल्नेछैनँ।
16हे यरूशलेम, म तँलाई कहिल्यै भुल्न सक्दिनँ!
मैले तेरो नाम आफ्नो हत्केलामा लेखेको छु।
17“तेरा छोराहरू चाँडै आउँदै छन्
र तँलाई नाश गर्नेहरू बिदा हुँदै छन्।
18चारैतिर आँखा उचाल्
र के भइरहेको छ, हेर्!
तेरा मानिसहरू जम्मा हुँदै छन्,
तिनीहरू घर आउँदै छन्!
म जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु
र तैँले आफ्ना मानिसहरूमा गर्व गर्नेछस्,
दुलहीले आफ्ना गहनामा गर्व गरेझैँ तैँले तिनीहरूमा गर्व गर्नेछस्।
19“तेरो देश नष्ट भएर उजाड भएको थियो,
तर अब त्यो त्यहाँ बसोबास गर्न आउनेहरूको निम्ति सानो नै हुनेछ तर जसले तँलाई नष्ट पारेर छोडे, तिनीहरू तँबाट धेरै टाढा हटिजानेछन्।”
20विदेशका कैदमा जन्मेका तेरा सन्तानहरूले एक दिन तँलाई यसो भन्नेछन्: “यो ठाउँ साह्रै सानो छ, हामी बसोबास गर्न अरू जग्गा चाहिन्छ!”
21तब तैँले आफ्ना मनमा भन्नेछस्,
“कसले मेरो लागि यी सबै सन्तान जन्मायो?
मैले मेरा छोरा-छोरीहरू गुमाएँ
र अरू जन्माउन सकिनँ।
म विदेशमा कैदी बनाइएर धपाइएँ,
कसले यी छोरा-छोरीहरूलाई हुर्कायो?
म त एक्लै थिएँ, यी छोरा-छोरीहरू कताबाट आए’?”
22सार्वभौम परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ:
“म जाति-जातिलाई इशारा गर्नेछु
र तिनीहरूले तेरा छोरा-छोरीहरूलाई बोकेर ल्याउनेछन्।
23तेरा निम्ति राजाहरू बुबाझैँ र रानीहरू आमाझैँ हुनेछन्।
तिनीहरूले तेरो अघि भूइँसम्म निहुरेर तँलाई आदर दिनेछन्।
नम्र भएर तिनीहरूले तँप्रति आफ्नो आदर देखाउनेछन्।
तब तैँले जान्नेछस् कि म परमप्रभु हुँ र मेरा आशाको बाटो हेर्नेहरू निराश हुनेछैनन्।”
24के तैँले एउटा सिपाहीबाट त्यसले लुटेको धन खोस्न सक्छस्?
अत्याचारीका हातबाट त्यसका कैदीहरूलाई छुटकारा दिन सक्छस्?
25परमप्रभु जवाफ दिनुहुन्छ,
“ठीक त्यस्तै हुनेछ; सिपाहीका कैदीहरू छुटाइनेछन्, अत्याचारीका लुटको धन खोसिनेछ।
जो तँसित लड्छ, त्योसित म लड्नेछु
र तेरा छोरा-छोरीहरूको उद्धार गर्नेछु।
26तँलाई सताउनेहरूलाई म आपसमा मारामार गराउनेछु,
तँलाई सताउनेहरूले आफ्नै मासु खानेछन्
र आफ्नै रगत पिएर मात्नेछन्।
तब सबै मानिसहरूले म तँलाई बचाउने परमप्रभु हुँ भनी जान्नेछन्।
तँलाई छुटकारा दिने इस्राएलका सामर्थी परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।”
Currently Selected:
यशैया 49: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.