YouVersion Logo
Search Icon

इजकिएल 26

26
टुरोसबारे अगमवाणी
1 # यशैया 23:1-18; योएल 3:4-8; आमोस 1:9,10; जकरिया 9:1-4; मत्ती 11:21,22; लूका 10:13,14 हामी कैदमा लगिएको एघारौं वर्षको कुनै महिनाको पहिलो दिन परमप्रभु मसित बोल्‍नुभयो। 2उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, टुरोस सहरका मानिसहरूले यो कुरो लिएर खुसीको सोर उचाल्‍दै छन्। तिनीहरूले यसो भन्‍दछन्, ‘यरूशलेम ध्‍वस्‍त भएको छ। त्‍यसले व्‍यापार गर्ने शक्ति अब हराएको छ! त्‍यो अब हामीसँग दाँजिन सक्‍नेछैन!’
3“अब म, सार्वभौम परमप्रभु यसो भन्‍दै छु, हे टुरोस सहर, म तेरो शत्रु हुँ। धेरै जातिहरूलाई म तेरो विरुद्धमा ल्‍याउनेछु। तिनीहरू तँमाथि समुद्रको छालझैँ आउनेछन्। 4तिनीहरूले तिमीहरूका सहरका पर्खालहरू नाश पार्नेछन् र तिमीहरूका धरहराहरू ढालिदिनेछन्। त्‍यसपछि म त्‍यहाँबाट सम्‍पूर्ण धुलो उडाइदिनेछु र त्‍यसलाई एउटा नाङ्गो चट्टान बनाई छोडिदिनेछु। 5त्‍यहाँ समुद्रमा त्‍यो खडा रहेको ठाउँमा जलाहारीहरूले आफ्‍ना जाल सुकाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु। जाति-जातिहरूले टुरोसलाई लुट्‍नेछन् 6र देशभित्र सहर-सहरमा बसोबास गर्ने मानिसहरूलाई तरवारले मार्नेछन्। तब टुरोसले जान्‍नेछ कि परमप्रभु म नै हुँ।”
7सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “सबैभन्दा ठूला राजा बेबिलोनको राजा नबूकदनेसरलाई म टुरोसमाथि हमला गर्न लाउनेछु। त्‍यो उत्तर दिशाबाट एउटा ठूलो सेना लिई घोडाहरू, रथहरू र घोडचढी-सैनिकहरूसहित आउनेछ। 8देशभित्रका सहर-सहरका बासिन्‍दाहरू लडाइँमा मारिनेछन्। शत्रुले पर्खाल र माटाका घेरा-मचानहरू बनाई ढालहरूको छानो सबै तेरा विरुद्धमा खडा गर्नेछन्। 9तिनीहरूले पर्खाल भत्‍काउने मुढाहरूले तिमीहरूका पर्खालहरूलाई प्रहार गर्नेछन् र तिमीहरूका धरहराहरू फलामका डन्‍डाहरूले ढालिनेछन्। 10तिनीहरूका घोडाका टापले उडाएका धुलै-धुलोले तँलाई ढाक्‍नेछ। तिनीहरूका घोडाले तानेका गाडा र रथहरूका आवाजले तिमीहरूका सहरको पर्खाल थर्किनेछ। ध्‍वस्‍त भएको सहरका मूल-ढोकाहरूबाट भएर ती घोडाहरू, गाडाहरू र रथहरू जाँदा उठेको आवाजले पर्खालहरू थर्किनेछ। 11तिनीहरूका घोडचढी सैनिकहरूले सडकहरू कुल्‍ची-मिल्‍ची पार्नेछन् र आफ्‍ना तरवारले तिमीहरूका मानिसहरूको संहार गर्नेछन्। तिमीहरूका बलिया-बलिया खामाहरू जमिनमा ढालिनेछन्। 12तिमीहरूका शत्रुहरूले तिमीहरूका धन-सम्‍पत्ति र सामानहरू खोसिलिनेछन्। तिनीहरूले तिमीहरूका सुन्‍दर घरहरू भत्‍काइदिनेछन् र भित्ताहरू ढालिदिनेछन्। तिमीहरूका ढुङ्गा-माटो, काठ-पात र रोडा उठाएर समुद्रमा फालिदिनेछन्। 13#प्रकाश 18:22म तिमीहरूका सबै गीतहरू र वीणाका धुनहरू बन्‍द गरिदिनेछु। 14म खालि एउटा नाङ्गो चट्टान छोडिदिनेछु, जसमाथि जलाहारीहरूले आफ्‍ना जाल सुकाउनेछन्। त्‍यो सहर फेरि बनिनेछैन। म, सार्वभौम परमप्रभु बोलेको छु।”
15सार्वभौम परमप्रभुले टुरोस सहरलाई यसो भन्‍नुभएको छ, “शत्रुले तँमाथि विजय गर्दा मारिन लागेका मानिसहरू चिच्‍च्‍याएका सुनेर समुद्रका किनारका बासिन्‍दाहरू डरले थरथर काम्‍नेछन्। 16#प्रकाश 18:9,10समुद्रमा यात्रा गर्ने जातिहरूका राजाहरू आ-आफ्‍ना सिंहासनबाट उत्रनेछन् र आ-आफ्‍ना लबेदा र बेलबुट्टे वस्‍त्रहरू फुकाई लगलग काम्‍दै जमिनमा बस्‍नेछन्। तिनीहरू आफ्‍ना दशामा यति भयभीत हुनेछन् कि तिनीहरूको लुगलुगी बन्‍द हुनेछैन।
17तिनीहरूले तिमीहरूका विषयमा यो विलापको गीत गाउनेछन्:
“त्‍यो प्रशिद्ध सहर नष्‍ट भएको छ!
त्‍यसका पानी-जहाजहरू समुद्रमा हराएका छन्।
यस सहरका बासिन्‍दाहरूले समुद्रहरूमा पनि अधिकार गर्थे
र समुद्रका किनारमा बस्‍नेहरू सबैलाई थर्कमान तुल्‍याउँथे।
18अब त्‍यसको पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्
र तिनीहरूका मानिसहरू यस्‍तो पतन भएको देखेर त्रासमा परेका छन्।”
19सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “म तँलाई निर्जन र ध्‍वस्‍त सहरझैँ उजाड पार्नेछु। गहिरो सागरको पानीले म तँलाई डुबाउनेछु। 20प्राचीनकालका मानिसहरूसित बास गर्न म तँलाई मृत्‍यु-लोकमा पठाउनेछु। म तँलाई पृथ्‍वीको गर्भमा अनन्‍तकालको निम्‍ति ध्‍वस्‍त भएको ठाउँमा बास गर्न लाउनेछु, जहाँ तेरो साथमा मुर्दाहरू बास गर्नेछन्। फलस्‍वरूप तँ सदा निर्जन रहनेछस् र जीवित प्राणीहरूका बीच तैँले फेरि ठाउँ पाउनेछैनस्। 21#प्रकाश 18:21म तँलाई एउटा डरलाग्‍दो उदाहरण बनाउनेछु र तेरो त्‍यहीं अन्‍त हुनेछ। मानिसहरूले तँलाई खोज्‍नेछन् तर कहिल्‍यै भेट्टाउनेछैनन्।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in