इजकिएल 13
13
झूटा अगमवक्ताहरूको विरुद्धमा परमप्रभुको वचन
1परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, 2“ए मरणशील मानिस, इस्राएलका ती अगमवक्ताहरूको विरुद्धमा बोल्, जसले आफ्नै कल्पनाबाट अगमवाणी बोल्दछन्। तिनीहरूलाई परमप्रभुको वचन सुन भन्।”
3सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “यी मूर्ख अगमवक्ताहरू नाश भएर जानेछन्! केही दर्शन नदेखी तिनीहरू आफ्नै प्रेरणामा बोल्छन्। 4हे इस्राएलीहरू हो, तिमीहरूका अगमवक्ताहरू भत्केका सहरका कुना-काप्चामा बस्ने स्यालहरूझैँ बेकामका छन्। 5तिनीहरूले पर्खाल भत्केका ठाउँहरूको रक्षा गर्दैनन् न त तिनीहरूको मरमत गर्छन्। यसकारण परमप्रभुको दिनमा लडाइँ आउँदा इस्राएलका मानिसहरू दह्रो भएर उभिन सक्दैनन्। 6तिनीहरूका दर्शनहरू झूटा छन्, तिनीहरूका अगमवाणीहरू झूटा छन्। मेरो सन्देश सुनाउँदै छन् भनी तिनीहरूले दाबी त गर्छन् तर मैले तिनीहरूलाई पठाएको होइनँ। तापनि हाम्रा अगमवाणी पूरा होलान् कि भनी तिनीहरूले आशा गर्छन्। 7म तिनीहरूलाई यसो भन्छु, ‘तिमीहरूले देखिटोपलेका दर्शनहरू झूटा हुन् र सुनाएका अगमवाणीहरू असत्य हुन्। ती मेरा वचनहरू हुन् भनी तिमीहरू भन्दछौ तर म तिमीहरूसित बोलेको पनि छैनँ’!”
8यसकारण सार्वभौम परमप्रभुले तिनीहरूलाई भन्नुहुन्छ, “तिमीहरूका वचनहरू झूटा हुन् र दर्शनहरू असत्य हुन्। यसकारण म तिमीहरूका विरुद्धमा छु। 9तिमी झूटा दर्शन देख्नेहरू र भर्माउने अगमवाणी कहनेहरूलाई मैले दण्ड दिन लागेको छु। जब मेरा प्रजा निर्णय लिन जम्मा हुनेछन्, त्यस बेला तिमीहरू रहनेछैनौ। इस्राएलका नागरिकताको सूचीमा तिमीहरूका नाम लेखिनेछैन। तिमीहरू आफ्ना देशमा कहिले फर्कनेछैनौ। तब म नै सार्वभौम परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
10 #
यर्मिया 6:14; 8:11 “सबै कुरा ठीकै छन् भनी अगमवक्ताहरूले मेरा प्रजालाई गलत बाटोतिर लैजान्छन्। तर वास्तवमा सुख-शान्ति छँदैछैन! मेरा प्रजाले ढुङ्गाका कच्चा पर्खाल लाउँदछन्, त्यसपछि ती अगमवक्ताहरू आएर चुन पोत्दछन्। 11ती अगमवक्ताहरूलाई भन् कि तिनीहरूको पर्खाल ढल्नेछ। म ठूलो वर्षा पठाउनेछु। पर्खालमाथि असिना खस्नेछ, आँधी-बेह्री चल्नेछ, 12पर्खाल ढल्नेछ र तिमीहरूको चुन-पोताइले के राम्रो गर्यो भन्दै सबैले तिमीहरूलाई सोध्नेछन्।”
13सार्वभौम परमप्रभु अब यसो भन्नुहुन्छ, “मेरो क्रोधमा पर्खाल ध्वस्त गर्न म ठूलो आँधी, झरी र असिना पठाउनेछु। 14तिनीहरूले चुन पोतेका पर्खाल ध्वस्त पार्नेछु र जगमा लगाएका ढुङ्गाहरू उदाङ्गो पार्नेछु। त्यो भत्केर तिमीहरूलाई थिची मार्नेछ। तब म नै परमप्रभु हुँ भनी सबैले जान्नेछन्।
15-16“पर्खाल र त्यसमा चुन पोत्नेहरूमाथि म मेरो क्रोध खनाउनेछु। ती पर्खालहरूमा चुन पोत्ने इस्राएलका अगमवक्ताहरू, जसले सबै कुरा ठीक नहुँदा-नहुँदै पनि ठीकै छन् भनी यरूशलेमलाई विश्वास दिलाए, तिनीहरू पनि त्योसँगै नाश भएको कुरा म तिमीहरूलाई जनाउनेछु।” सार्वभौम परमप्रभुले यसो भन्नुभएको छ।
झूटा अगमवादिनीविरुद्ध परमप्रभुको वचन
17परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, अब तेरा मानिसहरूका बीचमा भएका ती आइमाईहरूलाई हेर्, जसले आफैंले रचेका अगमवाणी बोल्दछन्। तिनीहरूको विरोध गर्। 18अनि तिनीहरूलाई सार्वभौम परमप्रभुका यी वचन भन्,
“ए नारीहरू हो! तिमीहरू नाश भएर जानेछौ। अरू मानिसहरूका प्राण मुट्ठीमा लिन सक्नेछौ भनी सबैका नाडीमा तिमीहरूले जादूका बूटी बाँधिदियौ र शिरमा लाउन जादूका लुगाका टुक्राहरू बनाइदियौ। तिमीहरू मेरा प्रजाका जीवन-मरणमाथि आफ्नो शक्ति राख्न र तिनीहरूलाई आफ्नै लाभको निम्ति मात्र काममा लाउन चाहन्छौ। 19एक-दुई मुट्ठी जौ र एक-दुई टुक्रा रोटी हात पार्न तिमीहरू मेरा प्रजाका सामुन्ने मेरो अनादर गर्छौ। मर्नुनपर्ने मानिसलाई तिमीहरू मार्छौ र मर्नुपर्ने मानिसलाई बचाउँछौ। यसरी तिमीहरू मेरा प्रजालाई झूटो कुरा भन्दछौ र तिनीहरूले तिमीहरूलाई विश्वास गर्छन्।”
20सार्वभौम परमप्रभु अब यसो भन्नुहुन्छ, “मानिसका जीवन र प्राण आफ्नो वशमा लिने चेष्टामा तिमीहरूले प्रयोग गरेका नाडीका बूटीहरू म घृणा गर्दछु। म ती बूटी तिमीहरूका नाडीबाट चुँडाइदिनेछु र तिमीहरूले वशमा राखेका मानिसहरूलाई छुटकारा दिनेछु। 21म तिमीहरूले बाँधिदिएका शिरका लुगाहरू च्यातेर फ्याँकिदिनेछु र एकैपल्टमा सदाकालको निम्ति मेरा प्रजालाई तिमीहरूका पन्जाबाट फुत्काउनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
22“ती असल मानिसहरू, जसलाई म दु:ख दिन चाहन्नँ, तिनलाई तिमीहरू झूटा कुरा भनी हताश बनाउँछौ। दुष्ट मानिसहरूलाई दुष्कर्महरू छोडी आफ्ना प्राण बचाउन तिमीहरू रोक्दछौ। 23अब, तिमीहरूका झूटा दर्शनहरू र भर्माउने अगमवाणीहरू बन्द हुनेछन्। तिमीहरूका अधीनबाट म आफ्ना प्रजालाई उद्धार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।”
Currently Selected:
इजकिएल 13: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.