इजकिएल 12
12
अगमवक्ता देशनिकाला भएको मानिसजस्तो हुन्छन्
1परमप्रभुले मलाई भन्नुभयो, 2#यशैया 6:9,10; यर्मिया 5:21; मर्कूस 8:18“ए मरणशील मानिस, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखा छन् तर देख्दैनन्। तिनीहरूका कान छन् तर सुन्दैनन् किनभने तिनीहरू विद्रोही छन्।
3“अब, ए मरणशील मानिस, एउटा देशनिकाला भएको मानिसले झैँ एउटा पोको तयार पार् र रात पर्नुअघि यहाँबाट निस्कि जा। तँ निस्केर अर्को ठाउँतिर गएको सबैले देखून्। हुन सक्छ, ती विद्रोहीहरूले यसबाट केही बुझ्नेछन्। 4देशबाट बाहिर जानलाई आफ्नो पोको तैँले रात पर्नुअघि नै तयार पार्। त्यो पोको तयार पारेको र बेलुका तँ कैदमा जान निस्केको जस्तै तिनीहरूले देखून्। 5तिनीहरूले हेरिरहेका बेलामा तैँले आफ्नो घरको भित्तामा एउटा प्वाल बना र पोको बोकेर त्यसैबाट निस्केर जा। 6तिनीहरूका आँखाको सामुन्ने तैँले त्यो पोको काँधमा बोकेर केही पनि नदेख्ने गरी आँखा छोप्दै अँध्यारोमा निस्केर जा। तैँले त्यसो गरेको इस्राएलीहरूको निम्ति एउटा चेतावनी हुनेछ।”
7परमप्रभुले भन्नुभएअनुसार मैले गरें। त्यस दिन देशनिकाला भएको मानिसले झैँ मैले एउटा पोको बनाएँ र बेलुका अँध्यारो हुँदैगरेको बेलामा हातले भित्तामा एउटा प्वाल बनाएँ र बाहिर निस्कें। सबैले हेरिरहेका बेला मैले त्यो पोको काँधमा बोकें र हिंडें।
8भोलिपल्ट बिहान परमप्रभु मसित बोल्नुभयो। 9उहाँले भन्नुभयो, “ए मरणशील मानिस, ती विद्रोही इस्राएलीहरूले के गरेको भनी तँलाई सोध्दै छन्। 10म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो तिनीहरूलाई बता। यो अगमवाणी यरूशलेमका शासक र सबै बासिन्दाहरूको निम्ति हो। 11तिनीहरूलाई भन् कि तैँले जे गरिस्, त्यो अब हुन आउने कुराको एउटा चिनो हो अर्थात् तिनीहरू देशनिकाला भएर कैदी हुनेछन्। 12इस्राएलका शासकले अँध्यारोमा आफ्नो भारी आफैं बोक्नेछ र तिनीहरूले खनेको पर्खालको प्वालबाट भागेर जानेछ। त्यसले आफ्नो आँखा छोप्नेछ र कहाँ जाँदै छ, त्यो देख्न सक्दैन। 13#२ राजा 25:7; यर्मिया 52:11तर म मेरो जाल फैलाउनेछु र त्यसलाई मेरो पासोमा पार्नेछु। त्यसपछि म त्यसलाई कल्दीहरूको देश बेबिलोनमा लैजानेछु र त्यसले त्यो देश देख्न नपाईकन मर्नेछ। 14त्यसका सल्लाहकारहरू, अङ्गरक्षकहरू र राजमहलका सबै भारदारहरूलाई चारै दिशामा छरपस्ट पारिदिनेछु र म तिनीहरूलाई तरवार लिएर खेद्नेछु।
15“जब म तिनीहरूलाई परदेशमा अन्यजातिहरूका माझमा छरपस्ट पार्नेछु, तब तिनीहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ। 16तिनीहरूमध्येबाट थोरैलाई चाहिँ म लडाइँ, अनिकाल र रुढीबाट बचाउनेछु। अनि तिनीहरूले अन्यजातिहरूका माझमा आफूले गरेका कामहरू कति घिनलाग्दा रहेछन् भनी स्वीकार गर्नेछन् र म नै परमप्रभु हुँ भनी थाहा गर्नेछन्।”
यरूशलेमवासीलाई डर
17परमप्रभु मसित बोल्नुभयो। 18उहाँले भन्नुभयो, “ए मरणशील मानिस, खाँदाखेरि तँ काम्नू, पिउँदा डरले थरथर हुनू। 19सम्पूर्ण जातिलाई बताइदिनू कि सार्वभौम परमप्रभुको यो सन्देश अझसम्म यरूशलेममा नै बसिरहने मानिसहरूको निम्ति हो। खाँदाखेरि तिनीहरू काम्नेछन् र पिउँदा डरले थरथर हुनेछन्। तिनीहरूको देश नाङ्गो पारिनेछ किनभने त्यहाँ बस्ने हरेकले हिंसा गरेको छ। 20मानिसहरूले भरिभराउ भएका नगरहरू ध्वस्त पारिनेछन् र देश उजाड बन्नेछ अनि तिनीहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”
मनपर्दो उखान र मननपर्दो सन्देश
21परमप्रभु मसित बोल्नुभयो। 22उहाँले भन्नुभयो, “ए मरणशील मानिस, ‘समय बितेर जान्छ र अगमवाणी टरेर जान्छ’ भनेर इस्राएलका मानिसहरूले किन घरीघरी उखान दोहोर्याउँछन्?’ 23त्यसबारे म सार्वभौम परमप्रभुले के भन्दछु, त्यो तिनीहरूलाई सुनाइदे। म त्यस उखानको अन्त गर्नेछु। इस्राएलमा त्यो उखान फेरि कहिल्यै चलाइनेछैन। तिनीहरूलाई यसो भन्, ‘समय आइपुगेको छ, सबै अगमवाणीहरू पूरा हुनेछन्!”
24“अब फेरि इस्राएलीहरूका बीचमा झूटा दर्शनहरू र धोका दिने अगमवाणीहरू हुनेछैनन्। 25म, सार्वभौम परमप्रभु तिनीहरूसित बोल्नेछु र म जे भन्छु, त्यो पूरा हुनेछ। अब ढीलो हुनेछैन। ए विद्रोहीहरू हो, मैले जे चेतावनी दिएको छु, त्यो तिमीहरूकै जीवनकालमा पूरा गर्नेछु,” परमप्रभु यसरी भन्नुहुन्छ।
26परमप्रभुले मलाई भन्नुभयो, 27“ए मरणशील मानिस, इस्राएलीहरू सोच्दछन् कि तेरा दर्शनहरू र अगमवाणीहरू धेरै दिनपछि मात्र पूरा हुनेछन्। 28यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु यसो भन्दै छु भनी सुना, अब ढीलो हुँदैन। मैले जे भनेको छु, त्यो पूरा हुनेछ। म सार्वभौम परमप्रभुले यो कुरा भनेको छु!”
Currently Selected:
इजकिएल 12: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.