YouVersion Logo
Search Icon

उपदेशक 3

3
सबै कुराको समय छ
1यस संसारमा जे-जति हुन्छ, परमेश्‍वरको निर्धारित समयमा नै हुन्छ।
2जन्‍मने एउटा समय छ, मर्ने एउटा समय।
रोप्‍ने एउटा समय छ, उखेल्‍ने एउटा समय।
3मार्ने एउटा समय छ, निको पार्ने एउटा समय।
भत्‍काउने एउटा समय छ, बनाउने एउटा समय।
4रुने एउटा समय छ, हाँस्‍ने एउटा समय।
शोक गर्ने एउटा समय छ, नाच्‍ने एउटा समय।
5ढुङ्गा फ्‍याँक्‍ने एउटा समय छ, ती बटुल्‍ने एउटा समय।
अँगालो हाल्‍ने एउटा समय छ, अँगालो नहाल्‍ने एउटा समय।
6भेट्टाउने एउटा समय छ, हराउने एउटा समय।
राख्‍ने एउटा समय छ, फाल्‍ने एउटा समय।
7च्‍यात्‍ने एउटा समय छ, सिउने एउटा समय।
चुप लाग्‍ने एउटा समय छ, बोल्‍ने एउटा समय।
8प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय।
युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।
9आफ्‍ना सबै कामबाट हामीले के लाभ पाउँछौं? 10परमेश्‍वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्‍दछु। 11प्रत्‍येक कुरा उहाँले त्‍यसको ठीक समयमा सुन्‍दर बनाउनुभयो। उहाँले हामीलाई अनन्‍तबारे जान्‍ने इच्‍छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्‍न सकिंदैन। 12जीवन रहुञ्‍जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ। 13मानिसले खान, पिउन र आफ्‍नो काममा सन्‍तोष पाओस्। त्‍यो परमेश्‍वरको दान हो।
14म जान्‍दछु कि परमेश्‍वरले जे गर्नुहुन्‍छ, त्‍यो सधैँभरि रहँन्छ। त्‍यसमा केही थप्‍न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्‍न सिकाउनुहुन्‍छ। 15जे हुन आउँछ वा हुन सक्‍छ, त्‍यो अघि नै भइसकेको छ। त्‍यही कुरा परमेश्‍वरले घरीघरी गराउनुहुन्‍छ।
संसारमा अन्‍याय
16साथै, मैले यस संसारमा न्‍याय र भलाइ हुनुपर्ने ठाउँमा दुष्‍टता भएको पनि देखेको छु। 17मैले मनमा सोचें, “परमेश्‍वरले धर्मी र अधर्मीहरूलाई एकनास न्‍याय गर्नुहुनेछ किनभने हरेक कुरा, हरेक कामको आफ्‍नै समय छ। आफ्‍नै समयमा ठीक-ठीक हुँदैजानेछ।” 18मैले मनमा पक्‍का गरें कि परमेश्‍वरले हाम्रो जाँच गर्दै हुनुहुन्‍छ र हामी पशुभन्दा केही असल छैनौं भनी देखाउन चाहनुहुन्‍छ। 19अन्‍तमा मानिस र पशुको भाग्‍य एउटै हुन्‍छ। दुवैमाथि एकै प्रकारको मृत्‍यु आउँछ। दुवै एकै थरीका प्राणी हुन्। मानिस पशुभन्दा केही असल हुँदैन किनभने दुवैको जीवनको केही अर्थ छैन। 20दुवै एउटै ठाउँमा पुग्‍छन्, दुवै माटोबाट आएका हुन्, माटैमा फर्कनेछन्। 21कसले पक्‍का गरी भन्‍न सक्‍छ कि मानिसको प्राण उँभोतिर र पशुको प्राण उँधो जमिनतिर जान्‍छ? 22यसैले मैले थाहा पाएँ कि हामीले आफ्‍ना काममा आनन्‍द लिनु नै सबैभन्दा असल हो। हामी अरू केही गर्न सक्‍दैनौं। मरेपछि के हुने हो, त्‍यो जान्‍ने केही उपाय छैन।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in