आमोस 5
5
पश्चात्तापको लागि आग्रह
1हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको बारेमा गाएको यो विलापको गीत सुन!
2कन्ये इस्राएल कहिल्यै उठ्न नसक्ने भई लोटेकी छे,
त्यागिएर त्यो माटोमा परेको छ,
त्यसलाई मद्दत गर्ने कोही छैन।
3सार्वभौम परमप्रभु भन्नुहुन्छ, “इस्राएलको एउटा सहरबाट हजार जना सिपाहीहरू लड्नलाई जान्छन्; तर सय जना मात्र बाँचेर फर्कन्छन्। अर्को सहरबाट सय जना लड्नलाई जान्छन् तर दश जना मात्र बाँचेर फर्कन्छन्।”
4परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुहुन्छ, “मकहाँ फर्की आओ र तिमीहरू बाँच्नेछौ। 5बेर्शेबामा पूजा गर्न नजाओ। मलाई बेथेलमा नखोज, बेथेल व्यर्थको हुनेछ। गिलगालमा नजाओ, त्यहाँका मानिसहरू देश निकालावास हुनेछन्।”
6परमप्रभुकहाँ जाओ र तिमीहरू बाँच्नेछौ। नत्र त आगोको मुस्लोझैँ उहाँ योसेफको सन्तानमाथि खस्नुहुनेछ। आगोले बेथेलका मानिसहरूलाई भस्म पार्नेछ र आगो निभाउन कसैले पनि सक्नेछैन। 7न्याय बिगार्ने र मानिसहरूका हक खोसी ठग्नेहरू, तिमीहरू नाश हुनेछौ।
8 #
अय्यूब 9:9; 38:31 परमप्रभुले तारामण्डल बनाउनुभयो,
किरकिटी र मृगशिरा तारा-समूह बनाउनुभयो।
उहाँले अँध्यारोलाई उज्यालो र दिनलाई रात बनाउनुहुन्छ।
उहाँले समुद्रको पानीलाई बोलाएर पृथ्वीमाथि खन्याइदिनुहुन्छ।
उहाँको नाम परमप्रभु हो।
9उहाँले बलियाहरू र तिनका किल्लाहरू नाश गर्नुहुन्छ।
10जसले अन्यायको विरोध गर्छ र अदालतको अघि साँचो बोल्छ, तिनीहरूलाई तिमीहरूले घृणा गर्छौ। 11तिमीहरूले गरीबलाई सताएका छौ र तिनीहरूका अन्न लुटेका छौ। यसकारण आफूले बनाएका पत्थरका सुन्दर भवनहरूमा तिमीहरू बास गर्न पाउनेछैनौ र आफूले लाएका सुन्दर दाखबारीको दाखमद्य पिउन पाउनेछैनौ। 12तिमीहरूको पाप यति डरलाग्दो छ र यति साह्रो अपराध तिमीहरूले गरेका छौ भन्ने कुरा मलाई थाहा छ। तिमीहरू असल मानिसहरूको खेदो गर्दछौ, घुस लिन्छौ र न्याय खोज्न न्यायालयमा आएका गरीबहरूलाई बाधा दिँदछौ। 13यसकारण यस्तो खराब समयमा चुपचाप भएर बस्नु नै बुद्धिमानी कुरा हो।
14भलाइ गर्ने, खराब नगर्ने सङ्कल्प गर र तिमीहरू बाँचौला। तब तिमीहरूले दाबी गरेअनुसार परमप्रभु सर्वशक्तिमान् परमेश्वर साँच्चै तिमीहरूका साथमा रहनुहनेछ। 15दुष्टतालाई घृणा गर, भलाइलाई प्रेम गर र न्यायालयमा निष्पक्ष न्याय गर। यस जातिका मानिसहरू, जो अझै बाँचिरहेका छन्, तिनीहरूमाथि सायद परमप्रभुले कृपा गर्नुहुनेछ।
16यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “सहर-सहरका बाटाहरूमा रुवावासी र शोक-विलाप हुनेछ। मरेकाहरूका लागि शोक गर्न विलापको गीत गाउनेहरूका साथ किसानहरूलाई पनि बोलाइनेछन्। 17सारा दाखबारीमा रुवावासी हुनेछ र यी सबै कुराहरू हुनेछन् किनभने म तिमीहरूलाई दण्ड दिन आउनेछु।” परमप्रभु बोल्नुभएको छ।
18हाय! हाय तिमीहरू, जो परमप्रभुको दिन पर्खिरहन्छौ। त्यस दिनमा तिमीहरूलाई के लाभ हुन्छ? तिमीहरूको लागि त्यो दिन अँध्यारो हुनेछ, उज्यालो होइन। 19त्यो दिन त कुनै मानिस सिंहबाट भाग्दा भालुको मुखमा परेको जस्तो पो हुनेछ। अथवा कुनै मानिस घर आएर भित्तामा हात राख्दा साँपले डसेको जस्तो हुनेछ! 20परमप्रभुको दिन उज्यालो होइन, अँध्यारो हुनेछ। त्यो त पटक्कै घाम नलागेको उराठलाग्दो दिन हुनेछ।
21 #
यशैया 1:11-14
परमप्रभु भन्नुहुन्छ, “म तिमीहरूका धार्मिक चाड-बाडलाई घृणा गर्दछु। म ती हेर्नै सक्दिनँ। 22तिमीहरूले मलाई होमबलि र अन्नबलि चढाउँदा म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले मलाई बलि चढाउन ल्याएका पोसेर मोटाएका पशुहरू म ग्रहण गर्नेछैनँ। 23गीत गाएर हल्ला गर्न बन्द गर। म तिम्रो वीणाको सोर सुन्न चाहन्नँ। 24बरु त्यसको सट्टा न्याय खोलाझैँ र धार्मिकता कहिल्यै नसुक्ने नदीझैँ बगून्।
25 #
प्रेरित 7:42,43 “हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूलाई चालीस वर्ष उजाड-भूमिबाट डोर्याएर ल्याउँदा के तिमीहरूले बलिदान र भेटी चढायौ? 26तर अब तिमीहरूले पुजेका मूर्तिहरू अर्थात् तिमीहरूका राज-देव सिक्कूत र तिमीहरूका तारा-देव कीयूनलाई उठाएर तिमीहरू हिँड्नुपर्नेछ। 27यसकारण म तिमीहरूलाई दमस्कसभन्दा पनि टाढा देशमा बन्दी बनाएर लैजानेछु।” यसरी परमप्रभु भन्नुहुन्छ, जसको नाम सर्वशक्तिमान् परमेश्वर हो।
Currently Selected:
आमोस 5: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.