YouVersion Logo
Search Icon

प्रेरित 6

6
सात जना सेवकहरूलाई छानिएको
1त्‍यस समयमा प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या बढिरह्‌यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्‍ने र हिब्रू भाषा बोल्‍ने यहूदीहरूको बीचमा भनाभन् चल्‍न थाल्‍यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्‍ता भएन भन्‍ने ग्रीक भाषा बोल्‍ने यहूदीहरूको भनाइ थियो। 2त्‍यसो हुँदा बाह्र प्रेरितहरूले प्रभुका चेलाहरू जति सबैलाई बोलाएर भने, “परमेश्‍वरको शिक्षालाई छोडेर खाने कुरामा अलमलिनु हामीलाई ठीक हुँदैन। 3त्‍यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्‍मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्‍मा तिनीहरूलाई दिनेछौं। 4हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्‍नेछौं।”
5प्रेरितहरूको विचार सबैलाई मन पर्‍यो। त्‍यसैले तिनीहरूले विश्‍वास र पवित्र आत्‍माले भरपूर भएका स्‍तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्‍टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने। 6तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्‍ना हात तिनीहरूमाथि राखे।
7यसरी परमेश्‍वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्‍वास गरे।
स्‍तिफनसलाई पक्रिएको
8स्‍तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्‍म-अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउँथे। 9तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्‍वतन्‍त्र भन्‍ने दलका मानिसहरू अनि अलेक्‍जेन्‍ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्‍तिफनससँग तर्कवितर्क गर्न लागे। 10तर पवित्र आत्‍माले स्‍तिफनसलाई यस्‍तो बुद्धि दिनुभयो, तिनी बोल्‍दा अरूले तिनको सामना गर्नै सकेनन्। 11यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्‍काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्‍वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्‍न लगाए। 12यसरी तिनीहरूले जनता र महासभामा बस्‍ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्‍काए। तिनीहरूले स्‍तिफनसलाई पक्रेर महासभाको अगाडि ल्‍याए। 13त्‍यसपछि तिनीहरूले स्‍तिफनसको बारेमा झूट बोल्‍ने मानिसहरूलाई ल्‍याए। झूट बोल्‍ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्‍दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्‍ने गर्छ। 14नासरतका येशूले यस मन्‍दिरलाई भत्‍काउनेछ र हामीले मोशादेखि नै मान्‍दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्‍ता-यस्‍ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।” 15त्‍यतिखेर महासभामा बस्‍नेहरू सबैले स्‍तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्‍वर्गदूतको जस्‍तो उज्‍यालो भएर चम्‍किरहेको थियो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in