YouVersion Logo
Search Icon

प्रेरित 18

18
कोरिन्‍थ सहरमा
1त्‍यसपछि पावल एथेन्‍सबाट बिदा भएर कोरिन्‍थ सहरतिर लागे। 2त्‍यहाँ उनले अकिलास नाउँ गरेका एक जना यहूदीलाई भेटे। अकिलासचाहिँ पोन्‍टस इलाकामा जन्‍मिएका थिए र आफ्‍नी जहान प्रिस्‍किलासँग भर्खरै इटालिया देशबाट आएका थिए किनभने रोमी सम्राट क्‍लौडियसले सबै यहूदीहरूलाई रोम सहरबाट निस्‍कने हुकुम दिएका थिए। पावल तिनीहरूलाई भेट्‍न गए। 3तिनीहरूले पाल बनाउने काम गरेर जीविका चलाउँथे। पावल तिनीहरूसँगै बसे किनकि उनले पनि तिनीहरूजस्‍तै पाल बनाउने काम गरेर जीविका चलाउँथे। 4पावल विश्राम दिनैपिच्‍छे यहूदीहरूका सभाघरमा गएर यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे र दुवैलाई मनाउन खोज्‍थे।
5सिलास र तिमोथी माकेडोनिया इलाकाबाट आएपछि पावल आफ्‍नो पूरै प्रचारको काममा लागे। उनले यहूदीहरूलाई ‘येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ’ भन्‍ने साक्षी दिए। 6तर तिनीहरूले पावलको विरोध गरेर उनलाई गाली गरे। पावलले तिनीहरूलाई चेतावनी होस् भनेर आफ्‍नो लुगाबाट धुलो टक्टकाउँदै भने, “नाश भयौ भने तिमीहरू आफ्‍नै दोषको कारणले गर्दा नाश हुनेछौ। मलाई चाहिँ दोष लाग्‍नेछैन। अबदेखि म मानिसहरूकहाँ जान्‍छु।”
7त्‍यस बेलादेखि पावल यहूदीहरूको सभाघरमा जान छोडिदिए। त्‍यस सभाघरको छेउमा परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ गरेका एक जना ग्रीक मानिसको घरमा पावल गए। 8यहूदी सभाघरका शासक क्रिस्‍पस र उनका सबै परिवारले प्रभुमाथि विश्‍वास गरे र कोरिन्‍थका अरू धेरै मानिसहरूले पनि पावलको शिक्षा सुनी प्रभुमा विश्‍वास गरेर बप्‍तिस्‍मा पाए।
9एक रात प्रभुले पावललाई दर्शन दिएर भन्‍नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ। 10म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्‍नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।” 11यसरी पावल डेढ वर्षसम्‍म कोरिन्‍थ सहरमा बसे र परमेश्‍वरको शिक्षा दिइरहे।
12अखैया इलाकामा गलियोन भनिने व्‍यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, 13“यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्‍ने तरिकाले परमेश्‍वरलाई पुज्‍न सिकाएर मानिसहरूलाई बिगार्न खोज्‍दै छ।”
14पावल बोल्‍नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्‍याय गर्नु ठीक थियो। 15तर यो कुरा त तिमीहरूकै शास्‍त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्‍यसो हुँदा तिमीहरू आफैंले नै यसको न्‍याय गर। मलाई यस कुराको न्‍याय गर्ने चासो छैन।” 16यसो भनेर गलियोनले तिनीहरूलाई न्‍यायालयबाट पठाइदिए। 17अब यहूदीहरूले सभाघरका शासक सोस्‍थेनेसलाई पक्रेर न्‍यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्‍तै गरेनन्।
पावल एन्‍टिओखिया सहरमा फर्किएका
18 # गन्ती 6:18 पावल निकै दिनसम्‍म प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग कोरिन्‍थ सहरमा बसे। त्‍यसपछि उनी बिदा भएर प्रिस्‍किला र अकिलाससँग समुद्रको बाटो भई सिरिया इलाकातिर जान हिँडे। केही समयअगाडि कुनै भाकल गरेको हुनाले पावलले किंक्रिया सहरमा पानीजहाज चढ्‍नुभन्दा अघि आफ्‍नो कपाल खौरे। 19एफिसस सहरमा आइपुगेपछि प्रिस्‍किला र अकिलास एफिससमै बस्‍ने भए। पावलचाहिँ एफिससको सभाघरमा पसेर यहूदीहरूसँग वाद-विवाद गर्न लागे। 20यहूदीहरूले पावललाई केही दिनसम्‍म उनीहरूसँगै बस्‍न बिन्‍ती गरे, तर उनी मानेनन् र 21पावल यसो भनेर तिनीहरूसँग बिदा भए, “यदि परमेश्‍वरको इच्‍छा भयो भने म फेरि तपाईंहरूकहाँ आउनेछु।” त्‍यसपछि उनी एफिससबाट समुद्रको बाटो लागे।
22कैसरिया सहरमा आइपुगेर पावल यरूशलेममा गए अनि त्‍यहाँको मण्डलीका मानिसहरूसँग भेटघाट गरे। त्‍यसपछि उनी एन्‍टिओखिया सहर गएर 23केही दिनसम्‍म बसे। त्‍यसपछि उनी गलातिया र फ्रिगिया इलाकाका ठाउँहरू हुँदै गए र ठाउँ-ठाउँमा भएका प्रभुका सबै चेलाहरूलाई विश्‍वासमा बलियो बनाए।
अपोल्‍लोस एफिसस सहरमा
24त्‍यसै बीचमा अलेक्‍जेन्‍ड्रिया सहरमा जन्‍मिएका अपोल्‍लोस नाउँ भएका एक जना यहूदी एफिसस आए। उनी धेरै राम्रोसँग बोल्‍न जान्‍ने मानिस थिए र उनलाई धर्मशास्‍त्रको धेरै ज्ञान थियो। 25उनले मुक्ति दिनुहुने प्रभु येशूको बारेमा शिक्षा पाएका थिए र आत्‍मामा जोशिलो भएर येशूको बारेमा ठीकसँग सिकाउँथे। तैपनि उनलाई यूहन्‍नाले दिएको बप्‍तिस्‍मा मात्र थाहा थियो। 26उनले यहूदीहरूको सभाघरमा निर्धक्‍कसँग शिक्षा दिन थाले। उनको शिक्षा सुनेपछि प्रिस्‍किला र अकिलासले उनलाई आफ्‍नो घरमा लगे र उनीहरूले परमेश्‍वरको मुक्तिको उपायलाई राम्ररी बयान गरेर उनलाई बुझाइदिए।
27त्‍यसपछि अपोल्‍लोसले अखैया इलाकामा जाने विचार गरे। एफिससमा भएका प्रभुका चेलाहरूले उनलाई जाने उत्‍साह दिए अनि अपोल्‍लोसको स्‍वागत गर्नू भनी त्‍यहाँ बस्‍ने चेलाहरूलाई एउटा पत्र पनि लेखिदिए। अखैयामा पुगेपछि अपोल्‍लोसले त्‍यहाँ प्रभुको अनुग्रहले गर्दा विश्‍वासमा आएकाहरूलाई धेरै सहायता गरे 28किनभने त्‍यहाँ भएका यहूदीहरूसँग मानिसको अगाडि तर्कवितर्क गर्दा उनले धर्मशास्‍त्रका कुराहरू लिएर प्रभु येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ भनी प्रमाण दिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in