YouVersion Logo
Search Icon

सपन्‍याह 1

1
1अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति, कूशीका छोरा सपन्‍याहकहाँ परमप्रभुको यो वचन आयो। #२ राज २२:१—२३:३०; २ इति ३४:१—३५:२७
आउने सर्वनाशको चेताउनी
2“पृथ्‍वीबाट म सबै थोक ध्‍वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्‍छ। 3“मानिसहरू र पशुहरू दुवैलाई म ध्‍वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्‍वंस पार्नेछु। म पृथ्‍वीबाट मानिस-जातिलाई नष्‍ट पार्नेछु, र दुष्‍टहरूका निम्‍ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।
यहूदाको विरुद्धमा
4“म यहूदाको विरुद्धमा र यरूशलेममा बस्‍नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्‍ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु। 5घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई, 6परमप्रभुको पछि लाग्‍न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्‍ट पार्नेछु। 7परमप्रभु परमेश्‍वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्‍त्‍याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ। 8परमप्रभुको त्‍यस बलिदानको दिनमा म राजकुमारहरू, राजाका छोराहरू र विदेशी लुगा लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु। 9त्‍यस दिन सँघारमा खुट्टाले नटेक्‍ने, र आफ्‍ना देवताहरूको मन्‍दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु।
10परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्‍तिर जानेछन्‌। 11हे बजार भएको ठाउँमा बस्‍ने हो, चिच्‍च्‍याएर रोओ। तिमीहरूका सबै व्‍यापारीहरू खतम हुनेछन्, चाँदीका व्‍यापार गर्नेहरू सबै नष्‍ट हुनेछन्‌। 12त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु। 13तिनीहरूका धन-सम्‍पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्‍काइनेछन्‌। तिनीहरूले घर बनाउनेछन्‌ तर तिनमा बस्‍न पाउनेछैनन्‌। तिनीहरूले दाखबारी लगाउनेछन्‌ तर त्‍यसको दाखमद्य पिउन पाउनेछैनन्‌।
परमप्रभुको महादिन
14“परमप्रभुको महादिन नजिकै छ, र त्‍यो चाँड़ै आउँदैछ। ध्‍यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्‍यहाँ योद्धाको चिच्‍च्‍याई ठूलो हुनेछ। 15त्‍यो दिन क्रोधको दिन हुनेछ, विपत्‌ र वेदनाका दिन, कष्‍ट र सर्वनाशको दिन, अँध्‍यारो र विरक्तको दिन, बादल र घोर अन्‍धकारको दिन, 16किल्‍ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लड़ाइँको सोरको दिन। 17म मानिसहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, र तिनीहरू अन्‍धा मानिसहरूझैँ हिँड्‌नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्‌। तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्‍द्रा-भुँड़ीहरू फोहोरसरि फ्‍याँकिनेछन्‌। 18परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्‍म पारिनेछ, किनकि पृथ्‍वीमा बस्‍नेहरू सबैलाई उहाँले अचानक भस्‍म पार्नुहुनेछ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for सपन्‍याह 1