प्रकाश 16
16
परमेश्वरका क्रोधका सात कचौरा
1तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।”
2तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के।#प्रस ९:१०
3दोस्रो स्वर्गदूतले आफ्नो कचौरो समुद्रमा खन्याए, र त्यो मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।
4अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले।#प्रस ७:१७-२१; भज ७८:४४ 5तब पानीको जिम्मा लिने स्वर्गदूतले यसो भनिरहेका मैले सुनें,
“तपाईं आफ्ना इन्साफमा न्यायी हुनुहुन्छ,
तपाईं जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो,
हे पवित्र परमेश्वर। किनभने यसरी नै तपाईंले इन्साफ गर्नुभएको छ।
6किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्,
र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ।
त्यो तिनीहरूले पाउनैपर्ने हो।”
7तब वेदीले यसो भनिरहेको मैले सुनें,
“हो, परमप्रभु परमेश्वर सर्वशक्तिमान्,
तपाईंका इन्साफ सत्य र न्यायसङ्गत छन्।”
8त्यसपछि चौथो स्वर्गदूतले आफ्नो कचौरो सूर्यमाथि खन्याए, र मानिसहरूलाई अग्निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो। 9मानिसहरू प्रचण्ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरका नाउँको निन्दा गरे। तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
10अनि पाँचौँ स्वर्गदूतले आफ्नो कचौरो त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यमा अन्धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्नो जिब्रो टोके।#प्रस १०:२१ 11तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे।
12तब छैटौँ स्वर्गदूतले आफ्नो कचौरो महानदी यूफ्रेटिसमा खन्याए, र नदीको पानी सुकिहाल्यो र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार भयो।#यशै ११:१५ 13तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें। 14तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
15 “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ। नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ।” #
मत्ती २४:४३-४४; लूक १२:३९-४०; प्रका ३:३
16तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ।#२ राज २३:२९
17अनि सातौँ स्वर्गदूतले आफ्नो कचौरो हावामा खन्याए, र मन्दिरको सिंहासनबाट यसो भन्ने एउटा चर्को आवाज निस्क्यो, “अब सिद्धियो।” 18तब बिजुली चम्के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन।#प्रका ८:५; ११:१३,१९ 19त्यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्वंस-विध्वंस भए। परमेश्वरलाई महान् बेबिलोनको याद आयो, र उहाँले आफ्नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्यसलाई पिउन दिनुभयो।#यशै ५१:१७ 20अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए।#प्रका ६:१४ 21चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो।#प्रस ९:२३; प्रका ११:१९
Currently Selected:
प्रकाश 16: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012