YouVersion Logo
Search Icon

प्रकाश 13

13
समुद्रबाट निस्‍किआएको पशु
1समुद्रबाट एउटा पशु निस्‍किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्‍यसका सीङमा दश वटा मुकुट थिए, र त्‍यसका शिरमा ईश्‍वर-निन्‍दाको नाउँ थिए।#दान ७:३; प्रका १७:३,७-१२ 2मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।#दान ७:४-६ 3त्‍यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्‍तो देखिन्‍थ्‍यो, तर त्‍यसको चोट निको भयो। अनि सारा पृथ्‍वी छक्‍क परेर त्‍यस पशुको पछिपछि लाग्‍यो। 4मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”
5त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।#दान ७:८,२५; ११:३६ 6परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो। 7अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।#दान ७:२१ 8र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।#भज ६९:२८
9जसको कान छ त्‍यसले सुनोस्‌—
10कैदमा जानुपर्ने कैदमा नै जानेछ,
तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ।
सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।#यर १५:२; ४३:११
पृथ्‍वीबाट निस्‍केको पशु
11अनि पृथ्‍वीबाट निस्‍किरहेको अर्को एउटा पशु मैले देखें। त्‍यसको पनि थुमाका जस्‍तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्‍तै त्‍यो बोल्‍दथ्‍यो। 12त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो। 13मानिसका आँखाको अगि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो। 14पहिलो पशुको उपस्‍थितिमा जुन चमत्‍कार देखाउने शक्ति त्‍यसलाई दिइएको थियो, त्‍यहीद्वारा त्‍यसले पृथ्‍वीका बासिन्‍दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्‍यस पहिलो पशुको सम्‍मानमा एउटा मूर्ति बनाउने हुकुम त्‍यसले तिनीहरूलाई दियो। 15त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌। 16अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। 17त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।
18बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

Currently Selected:

प्रकाश 13: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in