YouVersion Logo
Search Icon

हितोपदेश 31

31
राजा लमूएलका नीति-वचन
1राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्‍वरवाणी:
2हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरो भाकलको छोरा,
3तेरो बल स्‍त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्‍यस्‍तालाई नदे जसले राजाहरूको पतन गराउँछन्‌।
4“यो राजाहरूका निम्‍ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्‍न, शासकहरूले मदिराको लालसा गर्नु हुन्‍न,
5नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्,
र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्‍चित गराउँछन्‌।
6तिनीहरूलाई मदिरा देऊ जो नष्‍ट भइरहेका छन्, दाखमद्य त्‍यस्‍ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।
7तिनीहरूले पिऊन्‌ र आफ्‍नो दरिद्रता भुलून्,
र आफ्‍नो वेदना फेरि नसम्‍झून्‌।
8“त्‍यस्‍ताहरूको पक्षमा बोल्, जो आफ्‍नो पक्षमा बोल्‍न सक्‍दैनन्, यस्‍ताहरूका अधिकारको निम्‍ति जो कङ्गाल छन्‌।
9आवाज उठा र न्‍यायसँग फैसला गर्‌। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्‌।”
समाप्‍ति: उच्‍च चरित्र भएकी पत्‍नी
10उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌।
11तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्,
र उनलाई कुनै असल कुराको अभाव हुँदैन।
12तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।
13तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌।
14व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।
15तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्,
र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।
16खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्,
र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌।
17तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌।
18तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्,
र तिनको बत्ती राती निभ्‍दैन।
19तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्,
र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌।
20तिनले गरीबहरूलाई आफ्‍नो मुट्ठी खोल्‍छिन्,
र आफ्‍नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्‌।
21हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌।
22तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।
23तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌।
24तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्,
र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌।
25तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्,
र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।
26तिनी बुद्धिसँग बोल्‍छिन्,
र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ।
27तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्,
र आलस्‍यको रोटी खाँदिनन्‌।
28तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:
29“धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
30सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ,
र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।
31तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy