YouVersion Logo
Search Icon

नहेम्‍याह 1

1
यरूशलेमको लागि नहेम्याहको प्रार्थना
1हकल्‍याहका छोरा नहेम्‍याहको विवरण:
बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ, 2तब मेरा दाजुहरूमध्‍येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें। 3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्‍दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्‍काइएको छ र त्‍यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएका छन्‌।”
4यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें। 5तब मैले भनें:
“हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ। 6इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्‍वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्‍यसमा दोषी छौं। 7तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।
8“आफ्‍ना दास मोशालाई यसो भनेर #लेवी २६:३३ आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्, 9‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने पृथ्‍वीको पल्‍लो छेउसम्‍म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्‍थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु’। #व्‍य ३०:१-५
10“तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌। 11हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।”
त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in