मत्ती 6:5-14
मत्ती 6:5-14 NNRV
“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ। “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।