मत्ती 22
22
विवाह-भोजको दृष्टान्त
लूका १४:१५-२४
1येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो, 2“स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, 3र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्।
4 “फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्। विवाह-भोजमा आउनुहोस्।’
5 “तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे। 6बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। 7तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।
8 “तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्। 9यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’ 10तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
11 “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे। 12तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो।
13 “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ #मत्ती ८:१२; २५:३०; लूक १३:२८ 14किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
कर तिर्ने शिक्षा
मर्कूस १२:१३-१७; लूका २०:२०-२६
15तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। 16तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामी जान्दछौं, तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको भय मान्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न। 17यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
18तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ? 19कर तिर्ने सिक्का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए। 20उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?”
21तिनीहरूले उहाँलाई भने, “कैसरको।”
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।” 22यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।
मृतकहरूबाट पुनरुत्थान र विवाह
मर्कूस १२:१८-२७; लूका २०:२७-४०
23मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्न गरे,#प्रे २३:८ 24“गुरुज्यू, मोशाले भनेका छन्, कोही मानिस निस्सन्तान मर्यो भने उसको भाइचाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नुपर्छ।#व्य २५:५ 25हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो, र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोड़ेर गयो। 26उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्मले त्यसै गरे। 27तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। 28यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती सातै जनामध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिई।”
29येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। 30किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्। 31तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ? 32‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।” #प्रस ३:६
33यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे।
सबैभन्दा महान् आज्ञा
मर्कूस १२:२८-३४; लूका १०:२५-२८
34उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। 35तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,#लूक १०:२५-२८ 36“गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?”
37उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। #व्य ६:५ 38महान् र प्रथम आज्ञा यही हो। 39दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। #लेवी १९:१८ 40सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”
ख्रीष्ट कसका पुत्र?
मर्कूस १२:३५-३७; लूका २०:४१-४४
41जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, 42“ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो?”
तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”
43उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्,
44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, #भज ११०:१
“तिमी मेरो दाहिने हातपट्टि बस,
जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ’।”
45 यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने, ऊ कसरी तिनको पुत्र हुन्छ र?” 46अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन।
Currently Selected:
मत्ती 22: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012