YouVersion Logo
Search Icon

विलाप 3

3
सियोनको आशा
1उहाँका क्रोधको लाठोको दु:ख देख्‍ने मानिस म नै हुँ।
2उहाँले मलाई खेद्‌नुभयो,
र उज्‍यालोभन्‍दा बरु अँध्‍यारोमा हिँड्‌न लाउनुभएको छ।
3वास्‍तवमा उहाँले आफ्‍नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ।
4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ,
र मेरा हड्डीहरू भाँचिदिनुभएको छ।
5दु:ख र कष्‍टद्वारा उहाँले मलाई घेरेर थुन्‍नुभएको छ।
6धेरै दिनदेखि मरेको मुर्दाझैँ उहाँले मलाई अँध्‍यारो ठाउँमा हालिदिनुभएको छ।
7उम्‍कन नसकोस्‌ भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्‌लाले बाँध्‍नुभएको छ।
8सहायताको लागि म चिच्‍च्‍याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्‍कार गर्नुहुन्‍छ।
9ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ।
10आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्‍तै,
11उहाँले मलाई बाटोदेखि तर्काइलानुभयो,
र फहराएर छियाछिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्‍याउनुभयो।
12उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुभयो,
र मलाई नै काँड़को तारो बनाउनुभयो।
13आफ्‍नो ठोक्रोका काँड़हरूले उहाँले मेरो मुटु छेड़िदिनुभयो।
14मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु,
र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु।
15उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो,
र पित्त खुवाइदिनुभयो।
16उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो,
र मलाई धूलोमा कुल्‍चीमिल्‍ची गर्नुभयो।
17शान्‍ति मेरो जीवनबाट दूर भएको छ। कल्‍याण के हो, सो मैले बिर्सेको छु।
18यसैले म भन्‍छु, “मेरो शान नष्‍ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।”
19तीतोपन र पित्त, मेरो दु:ख र फिरन्‍तेपनलाई सम्‍झन्‍छु।
20म निरन्‍तर तिनलाई सम्‍झिरहन्‍छु,
र मेरो प्राण मभित्र हताश भएको छ।
21तर म यो स्‍मरण गर्दछु, यसैले मलाई आशा दिन्‍छ:
22परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं, उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन।
23हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ।
24मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।”
25परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्‍नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्‍छ।
26चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ।
27आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ।
28परमप्रभुले यो त्‍यसमाथि राख्‍नुभएकोले त्‍यो एकलै शान्‍त बसोस्‌।
29त्‍यसले आफ्‍नो मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्‌।
30आफ्‍नो गाला हिर्काउनेपट्टि नै त्‍यसले त्‍यो फर्काइदेओस्,
र गिल्‍ला सहँदैरहोस्‌।
31किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्‍ति फाल्‍नुहुन्‍न,
32उहाँले दु:ख ल्‍याउनुभए तापनि आफ्‍नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्‍यै नथामिने प्रेम अति महान्‌ छ।
33किनभने उहाँले मानिसका सन्‍तानलाई स्‍वेच्‍छाले दु:ख दिनुहुन्‍न।
34देशका सबै कैदीहरूलाई खुट्टाले दल्‍ने,
35सर्वोच्‍च परमेश्‍वरको सामुन्‍ने कुनै मानिसको हक मिच्‍ने,
36कुनै मानिसलाई इन्‍साफदेखि वञ्‍चित गर्ने जस्‍ता कुराहरूलाई परमप्रभु हेर्न सक्‍नुहुन्‍न।
37परमप्रभुले आज्ञा नगरुञ्‍जेल कसले अह्राएको पूरा भएको छ?
38के सर्वोच्‍च परमेश्‍वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्‍कँदैनन्‌?
39आफ्‍नो पापका दण्‍डको निम्‍ति मरणशील मानिसले किन गनगनाउने?
40हामी आफ्‍ना चाल जाँचेर हेरौं,
र हामी परमप्रभुतिर फर्कौं।
41हामी हाम्रा हात अनि हृदय स्‍वर्गका परमेश्‍वरतिर उठाऔं, अनि भनौं:
42हामीले पाप गर्‍यौं, हामी बागी भयौं,
र तपाईंले क्षमा गर्नुभएको छैन।”
43तपाईं क्रोधले पूर्ण हुनुभयो,
र तपाईंले हामीहरूको खेदो गर्नुभयो,
र दया नगरी हामीलाई मार्नुभयो।
44तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर तपाईंले आफूलाई बादलले छोप्‍नुभएको छ।
45तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा फोहोरको थिग्रो र कसिङ्गरसरह तुल्‍याउनुभएको छ।
46“हाम्रा सबै शत्रुहरूले हाम्रा विरुद्धमा मुख ठूलो खोलेर गिल्‍ला गरेका छन्‌।
47आतङ्क र खतरा, उजाड़ र विनाश हामीमाथि आइपरेका छन्‌।”
48मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्‍छ।
49मेरा आँखाबाट विनाविश्राम आँसु निरन्‍तर बगिरहनेछ,
50जहिलेसम्‍म परमप्रभुले स्‍वर्गदेखि तल हेरेर देख्‍नुहुन्‍न।
51मेरो सहरका स्‍त्रीहरूका दुर्दशा देखेर मलाई दु:ख लाग्‍छ।
52विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँड़े।
53तिनीहरूले मेरो जीवन खाड़लमा अन्‍त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने,
54पानी मेरो कपालसम्‍मै आयो, मैले सम्‍झें, “मेरो अन्‍त आइपुग्‍यो।”
55हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें।
56तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो, “छुटकाराको निम्‍ति मेरो पुकारप्रति आफ्‍नो कान बन्‍द नगर्नुहोस्‌।”
57मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो,
र तपाईंले भन्‍नुभयो, “नडरा।”
58हे परमप्रभु, मेरो पक्षमा लड़ेर तपाईंले मेरो प्राण बचाउनुभयो।
59हे परमप्रभु, ममाथि गरिएको अत्‍याचार तपाईंले देख्‍नुभएको छ। मेरो न्‍याय गरिदिनुहोस्‌।
60तिनीहरूको बदलाको गहिराइ, मेरो विरुद्धमा गरिएका तिनीहरूका सबै युक्ति तपाईंले देख्‍नुभएको छ।
61हे परमप्रभु, तिनीहरूले गरेका निन्‍दा, मेरो विरुद्धमा रचेका तिनीहरूका सबै युक्ति तपाईंले सुन्‍नुभएको छ,
62जुन मेरा विरोधीहरूले दिनभरि मेरो विरुद्धमा कानेखुसी गरेका र भनेका छन्‌।
63तिनीहरूलाई हेर्नुहोस्, उठ्‌दा र बस्‍दा पनि तिनीहरू आफ्‍ना गीतमा मेरो ठट्टा गर्छन्‌।
64हे परमप्रभु, तिनीहरूका हातले गरेका कामअनुसार तिनीहरूलाई उचित दण्‍ड दिनुहोस्‌।
65तिनीहरूका हृदय छोपिदिनुहोस्,
र तपाईंको श्राप तिनीहरूमाथि परोस्‌।
66तपाईंले तिनीहरूलाई आफ्‍नो रीसमा खेद्‌नुहोस्,
र परमप्रभुको स्‍वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्‌।

Currently Selected:

विलाप 3: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in