यहोशू 2
2
यरीहोमा दुई जासूस
1तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्य तवरले पठाएर भने, “त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्याको घरमा आइपुगे, र त्यहीँ वास बसे। #हिब ११:३१; याक २:२५
2अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्।” 3यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्।”
4तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन। 5साँझपख सहरको मूल ढोका बन्द गरिने बेलामा तिनीहरू निस्केर गए। ती मानिसहरू कता गए, मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ।” 6(तर त्यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई, र कौसीमा त्यसले मिलाएर राखेकी सनका डाँठहरूमुनि तिनीहरूलाई लुकाइराखेकी थिई।) 7खेद्ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्दै यर्दनका जँघारहरू पुग्ने बाटोतिर लागे। तिनीहरूलाई खेद्नेहरू बाहिर निस्कने बित्तिकै सहरको मूल ढोका बन्द भयो।
8ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई, 9र त्यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्दाहरू तपाईंहरूको भयले काम्न थालेका छन्। 10तपाईंहरू मिश्रदेशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं। #प्रस १४:२१; गन्ती २१:२१-३५ 11यो सुन्ने बित्तिकै हामी ब्याकुल बन्यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ। 12यसकारण अब म तपाईंहरूलाई बिन्ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्, 13कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्युबाट बचाउनुहुनेछ।”
14ती मानिसहरूले त्यसलाई आश्वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौं।”
15तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालमै थियो। 16त्यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्नेहरूले भेट्टाउलान्। खेद्नेहरू नफर्कुञ्जेल तीन दिन त्यहीँ लुक्नुहोस्, अनि त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्नुहोला।”
17ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन। 18हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्यही झ्यालमा यो रातो डोरी बाँधिराख्नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ। 19जो तिम्रो घरबाट बाहिर सड़कमा निस्कन्छ त्यसको रगत त्यसैको शिरमा पर्नेछ, र हामी निर्दोष रहनेछौं। अनि जो तिमीसँग यस घरमा रहनेछ त्यसमाथि कसैको हात पर्यो भने त्यसको रगत हाम्रो शिरमा पर्नेछ। 20तर तिमीले हाम्रो यो कुरा प्रकट गर्यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्वतन्त्र हुनेछौं।”
21त्यसले भनी, “तपाईंहरूले भन्नुभएबमोजिम नै होस्।” अनि त्यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्यसले त्यो रातो डोरी झ्यालमा बाँधी।
22तिनीहरू गए, र डाँड़ामा पुगे, र खेद्नेहरू नफर्कुञ्जेल तीन दिनसम्म त्यहीँ बसे। खेद्न आउनेहरूले सम्पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्। 23तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्तार सुनाए। 24तिनीहरूले यहोशूलाई भने, “साँच्ची नै परमप्रभुले त्यो सम्पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”
Currently Selected:
यहोशू 2: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012