YouVersion Logo
Search Icon

यर्मिया 29

29
निर्वासित भएकाहरूलाई यर्मियाको पत्र
1बचेका धर्म-गुरुहरू, अनि पूजाहारी, अगमवक्ता र सबै मानिसहरू, जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको पत्रका कुरा यी नै हुन्‌। #२ राज २४:१२-१६; २ इति ३६:१० 2(राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।) 3तिनले यो पत्र शापानका छोरा एलासा र हिल्‍कियाहका छोरा गमर्याहलाई जिम्‍मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्‍तो थियो:
4यरूशलेमबाट बेबिलोनमा आफूले निर्वासन गरी लगेका सबैलाई सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: 5“त्‍यहाँ तिमीहरू घर बनाएर बस, बारीहरू लगाओ र तिनका उब्‍जनीहरू खाओ। 6विवाहबारी गरेर छोराछोरीहरू जन्‍माओ, छोराहरूका निम्‍ति बुहारीहरू ल्‍याओ, र छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूले छोराछोरीहरू जन्‍माऊन्‌। त्‍यहाँ आफ्‍नो संख्‍या बढ़ाओ, घटेर नजाओ। 7मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्‍यसको निम्‍ति परमप्रभुसित प्रार्थना गर। किनभने त्‍यसको उन्‍नति भएकोमा नै तिमीहरूको उन्‍नति हुनेछ।” 8हो, सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्‍छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्‍यान नदेओ। 9तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्‍छन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्‍नुहुन्‍छ’।
10परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु। #२ इति ३६:२१; यर २५:११; दान ९:२ 11किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। 12तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु। 13जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। #व्‍य ४:२९ 14तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्‍याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्‍मा गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्‍यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्‍याउनेछु।”
15शायद तिमीहरू भन्‍नेछौ, “परमप्रभुले त हाम्रा निम्‍ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।” 16तर दाऊदको सिंहासनमा बस्‍ने राजा र यस सहरमा बस्‍ने सबै मानिसहरू, तिमीहरूका आफन्‍तहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यो भन्‍नुहुन्‍छ— 17हो, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्‍जीरहरूझैँ तुल्‍याउनेछु, जो यति साह्रो कुहेका हुन्‍छन्‌ कि ती खान पनि सकिँदैनन्‌। 18तिनीहरूलाई म तरवार, अनिकाल र रूढ़ीले खेद्‌नेछु। म तिनीहरूलाई पृथ्‍वीका सबै राज्‍यहरूमा घृणाको पात्र तुल्‍याउनेछु। मैले तिनीहरूलाई धपाएका सारा जातिहरूका बीचमा म तिनीहरूलाई सराप, त्रास, गिल्‍ला र निन्‍दाका पात्र बनाउनेछु। 19किनकि तिनीहरूले मेरा कुरा ध्‍यानसित सुनेनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “जुन वचन मैले मेरा दास अगमवक्ताहरूद्वारा घरीघरी पठाएको थिएँ। र तिमी निर्वासितहरूले पनि ध्‍यानसित सुनेनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।
20यसकारण हे सबै निर्वासनमा लगिएकाहरू, जसलाई मैले यरूशलेमदेखि बेबिलोनमा पठाएँ, परमप्रभुको वचन सुन। 21कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाह, जसले मेरो नाउँमा झूटा अगमवाणी कहँदैछन्, तिनीहरूको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनेछु, र त्‍यसले तिमीहरूकै नजरको सामुन्‍ने तिनीहरूलाई मार्नेछ। 22तिनीहरूकै कारणले यहूदाबाट बेबिलोनमा निर्वासन भएकाहरूले यो सराप प्रयोग गर्नेछन्‌: ‘परमप्रभुले तँलाई सिदकियाह र आहाबजस्‍तै बनाऊन्, जसलाई बेबिलोनको राजाले आगोमा डढ़ाएका थिए’। 23किनकि तिनीहरूले इस्राएलमा अति घृणित काम गरेका छन्‌। तिनीहरूले आफ्‍नै छिमेकीकी पत्‍नीसित व्‍यभिचार गरेका छन्, र मैले तिनीहरूलाई बोल्‍नू भनी नभनेका झूटा कुरा तिनीहरूले बोलेका छन्‌। यो कुरा म जान्‍दछु, र म यो कुराको साक्षी छु,” परमप्रभु भन्‍नुहुन्‍छ।
शमायाहलाई समाचार
24नेहेलामवासी शमायाहलाई यसो भन, 25“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले आफ्‍नै नाउँमा यरूशलेमका सबै मानिसहरूलाई र मासेयाह पूजाहारीको छोरो सपन्‍याहलाई र अरू सबै पूजाहारीहरूलाई चिट्ठी लेखिस्‌। तैंले सपन्‍याहलाई यसो भनिस्, 26‘परमप्रभुले तिमीलाई यहोयादा पूजाहारीको सट्टामा परमप्रभुका घरको जिम्‍मा लिनलाई पूजाहारी नियुक्त गर्नुभएको हो। तिमीले त्‍यहाँ अगमवाणी गर्ने कुनै पनि बौलाहालाई ठिँगुरोमा हाल्‍नू र घिच्रोमा फलाम झुण्‍ड्याएर राख्‍नू। 27यसर्थ तिमीहरूका बीचमा अगमवक्ता हुने अनातोतको यर्मियालाई तिमीले किन हप्‍काएनौ? 28बेबिलोनमा हामीलाई त्‍यसले यस्‍तो समाचार पठाएको छ, ‘तिमीहरूको निर्वासन धेरै समय रहनेछ। यसकारण घरहरू बनाएर बस, बारीहरू लगाओ र तिनका उब्‍जनी खाओ’।”
29तापनि सपन्‍याह पूजाहारीले यो पत्र पढ़ेर यर्मियालाई सुनाए। 30तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 31“निर्वासन भएकाहरू सबैलाई यो समाचार पठा: ‘नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले त्‍यसलाई नपठाईकन पनि शमायाहले अगमवाणी कहेर तिमीहरूलाई झूटा कुरामाथि विश्‍वास गर्न लगाएको कारणले, 32म नेहेलामवासी शमायाह र त्‍यसका वंशलाई दण्‍ड दिनेछु। त्‍यसको कुनै पनि वंश यस प्रजामा जीवित रहनेछैन, र मेरो प्रजालाई जो भलाइ म गर्नेछु त्‍यो त्‍यसले हेर्नेछैन, किनभने त्‍यसले मेरो विरुद्धमा विद्रोही कुरा गरेको छ, परमप्रभु भन्‍नुहुन्‍छ’।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in