YouVersion Logo
Search Icon

यशैया 54

54
सियोनको भावी गौरव
1“हे बाँझी स्‍त्री, गीत गा! हे सुत्‍केरी पीडामा कहिल्‍यै नपरेकी स्‍त्री, तँ जसले कहिल्‍यै बालक जन्‍माएकी छैनस्, आनन्‍दले करा। किनकि बाँझी स्‍त्रीका सन्‍तान विवाहित स्‍त्रीका भन्‍दा ज्‍यादा हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। #गला ४:२७
2“तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌। 3किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्‍तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्‍नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्‌।
4“नडरा, तँ शर्ममा पर्नेछैनस्‌। अनादरको भय नमान्, तँ होच्‍याइनेछैनस्‌। तैंले आफ्‍नो जवानीपनको लाजलाई भुल्‍नेछस्‌ र तेरो विधवापनको निन्‍दा तैंले फेरि कहिल्‍यै सम्‍झनेछैनस्‌। 5किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ। 6त्‍यागिएकी र आत्‍मामा दु:खित भएकी, तरुणावस्‍थामा विवाह भएर पछि त्‍यागिएकी पत्‍नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ। 7“केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्‍याउनेछु। 8रीसको झोँकमा क्षणभरको निम्‍ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्‍त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्‍नुहुन्‍छ।
9“यो त मेरो निम्‍ति नोआको पालोका दिनहरूजस्‍तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्‍वीलाई फेरि डुबाउनेछैनँ, त्‍यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्‍यै हप्‍काउनेछैनँ भनी मैले शपथ खाएको छु। #उत ९:८-१७ 10पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।
11“हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्‍त्‍वना नपाएकी सहर, हेर्, म फिरोजा पत्‍थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्‍नेछु। #प्रका २१:१८-२१ 12मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु। 13तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्‍ति मिल्‍नेछ। #यूह ६:४५ 14धार्मिकतामा तँ स्‍थापित हुनेछस्‌। अत्‍याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्‍यो तेरो नजिक आउनेछैन। 15कसैले तँलाई आक्रमण गरे तापनि त्‍यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्‍यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ।
16“हेर, आगोको भुङ्‌ग्रो फुक्‍ने, र आफ्‍नो कामको निम्‍ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरें। र उत्‍पात गरेर नष्‍ट गर्नेलाई पनि मैले नै सृष्‍टि गरेको हुँ। 17तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

Currently Selected:

यशैया 54: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in