YouVersion Logo
Search Icon

यशैया 21

21
बेबिलोनको विरुद्धमा अगमवाणी
1समुद्र-किनारको मरुभूमिको विषयमा ईश्‍वरवाणी: दक्षिण देशमा भुमरी जोडसित चलेझैँ, मरुभूमिबाट, त्रासको देशबाट एउटा आक्रमणकारी आउँछ। 2एउटा डरलाग्‍दो दर्शन मलाई देखाइयो: धोखाबाजी गर्नेले धोखाबाजी गर्छ, र लुट्‌नेले लुट्‌छ। ए एलाम, आक्रमण गर्, ए मादी, घेरा लगा। त्‍यसले गराएको सबै सुस्‍केरा म बन्‍द गरिदिनेछु।
3यसैले मेरो शरीर पीडाले भरिएको छ। प्रसववेदनामा परेकी स्‍त्रीझैँ तीक्ष्ण वेदनाले मलाई पक्रेको छ। म जे सुन्‍छु त्‍यसले म धरमराउँछु। म जे देख्‍छु त्‍यसले मलाई व्‍याकुल पार्छ। 4मेरो मुटु हतोत्‍साहित भएको छ। डरले म काँप्‍छु। मैले चाहना गरेको सन्‍ध्‍याको रिमझिम मेरो निम्‍ति त्रास भएको छ।
5तिनीहरूले टेबिल तयार गर्छन्, गलैँचा बिछ्याउँछन्, खान्‍छन्‌ र पिउँछन्‌। हे अधिकृतहरू हो, उठ, ढालमा तेल लगाओ।
6परमप्रभु मलाई यसो भन्‍नुहुन्‍छ, “जा, पहरादार राख्‌। त्‍यसले के देख्‍छ त्‍यो बताओस्‌। 7जब त्‍यसले घोड़ाको टोली भएका रथहरू, र गधा र ऊँटका सवारहरू देख्‍छ, तब त्‍यो चनाखो, पूर्ण चनाखो होस्‌।’
8त्‍यो पहरादार यसो भनेर करायो, “हे प्रभु, म दिनहुँ पहरा बस्‍ने धरहरामा उभिरहन्‍छु, र प्रत्‍येक रातमा म पहरा चौकीमा बस्‍छु। 9हेर्नुहोस्, घोड़ाको टोली भएको रथमा एक जना मानिस आउँदैछ। अनि त्‍यसले जवाफ दिएर भन्‍छ, ‘बेबिलोनको पतन भयो, पतन भयो, र त्‍यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू चकनाचूर पारिएर जमिनमा पड़िरहेका छन्‌’।” #प्रका १४:८; १८:२
10ए मेरो प्रजा, दाइँ गर्ने खलामा पेलिएकाहरू! सर्वशक्तिमान्‌ परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनें, त्‍यो म तिमीहरूलाई भन्‍छु।
एदोमको विरुद्धमा अगमवाणी
11दुमाको विषयमा ईश्‍वरवाणी: “ए पहरादार, रात कति बाँकी छ? ए पहरादार, रात कति रहेको छ?” भनेर कसैले मलाई सेइरबाट भन्‍दैछ। 12पहरादारले जवाफ दिन्‍छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्‍नु छ भने सोध, र फेरि फर्केर आऊ।”
अरब देशको विरुद्धमा अगमवाणी
13अरब देशको विषयमा ईश्‍वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्‍छौ, 14तिर्खाएकाहरूका निम्‍ति पानी ल्‍याओ। तेमामा बस्‍नेहरूले शरणार्थीहरूका निम्‍ति खानेकुरा ल्‍याओ। 15तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लड़ाइँबाट भाग्‍छन्‌।
16परमप्रभु मलाई यसो भन्‍नुहुन्‍छ, “एक वर्षभरिलाई ज्‍यालामा काम गर्ने नोकरले वर्ष गनेअनुसार, एकै वर्षमा केदारको सबै शान अन्‍त हुनेछ। 17धनुर्धारीहरू, केदारका योद्धाहरूमध्‍ये बाँचेकाहरू थोरै मात्र हुनेछन्‌।” परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसै भन्‍नुभएको छ।

Currently Selected:

यशैया 21: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in