यशैया 1
1
1यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन। #२ राज १५:१-७; १५:३१—१६:२०; १८:१—२०:२१; २ इति २६:१—३२:३३
एक अटेरी जाति
2हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्। 3गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्।
5तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ। 6पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
7तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुन्ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्यो उजाड़ पारिएको छ। 8सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ। 9यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं। #उत १९:२४; रोम ९:२९
10हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन! 11परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्नँ। #आमो ५:२१-२२ 12जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्छ र? मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र? 13व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ। 14तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्ति भार भएका छन्। ती बोक्दा-बोक्दा म थाकेको छु। 15तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्। 16आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। 17भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
18परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्। 19यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ। 20तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो।
21हेर त, विश्वासयोग्य सहर कसरी एउटी वेश्या भई त! उहिले त्यो न्यायले पूर्ण थियो। त्यसमा धार्मिकताले वास गर्थ्यो, तर अब त त्यो हत्याराहरूले भरिएको छ! 22तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ। 23तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्छन्। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्दैन। 24यसैकारण प्रभु, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्नुहुन्छ, “मेरा दुश्मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु। 25मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु। 26म तेरा न्यायकर्ताहरूलाई पहिलेको जस्तै, र तेरा सल्लाहकारहरूलाई सुरुमा जस्तै फेरि नियुक्त गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर र विश्वासयोग्य सहर कहलाइनेछस्।”
27न्यायसित सियोनको छुटकारा हुनेछ, र पश्चात्ताप गर्ने त्यहाँका बासिन्दाहरूको छुटकारा धार्मिकतासित हुनेछ। 28तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्याग्नेहरूचाहिँ नष्ट हुनेछन्। 29“तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ। 30पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ। 31शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।”
Currently Selected:
यशैया 1: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012