हिब्रू 12:1-6
हिब्रू 12:1-6 NNRV
यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं। हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ। पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ। के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”