YouVersion Logo
Search Icon

प्रस्‍थान 9

9
गाईबस्तुमा विपत्ति
1फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्‍यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे। 2तैंले तिनीहरूलाई जान दिन अस्‍वीकार गरिस्‌ र अझै रोकेर राखिस्‌ भने, 3खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्‍यहाँ भयानक रूढ़ी आउनेछ। 4तर परमप्रभुले इस्राएलका गाईबस्‍तु र मिश्रका गाईबस्‍तुमा भेद राख्‍नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”
5परमप्रभुले यसो भनेर एक निश्‍चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्‍छ।” 6अनि भोलिपल्‍ट परमप्रभुले त्‍यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्‍तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्‍तु मरेन। 7फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्‍तुहरूमध्‍येको एउटै पनि मरेको उनीहरूले देखेनन्‌। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्‌।
खटिराको विपत्ति
8फेरि परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्‍ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्‌। 9त्‍यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्‍नेछन्‌।”
10तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्‍ने खड़ा भए, र मोशाले हावामा त्‍यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्‍किआए। #प्रका १६:२ 11जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्‍ने टिक्‍नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्‍केका थिए। 12तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्‌।
असिनाको विपत्ति
13फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने हाजिर हो, र त्‍यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे। 14नत्रभने यस पल्‍ट तँमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरा सबै विपत्तिहरू म पठाउनेछु, ताकि सारा पृथ्‍वीमा मजस्‍तो कोही रहेनछ भनी तँलाई थाहा होस्‌। 15किनकि यदि मैले आफ्‍नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढ़ीले प्रहार गरेको भएदेखि तँ पृथ्‍वीबाट मेटिनेथिइस्‌। 16तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्‌। #रोम ९:१७ 17अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्‍छस्‌। 18यसकारण भोलि यसै बेला म यस्‍तो घोर असिना बर्साउनेछु जो मिश्र स्‍थापित भएको दिनदेखि अहिलेसम्‍म बर्सिएको छैन। 19अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्‍तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्‌।”
20फारोका अधिकारीहरूमध्‍ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरूलाई घरभित्र हुले। 21तर परमप्रभुका वचनको वास्‍ता नगर्नेचाहिँले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरू मैदानमा नै रहन दिए।
22तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्‌— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्‌।” 23तब मोशाले आफ्‍नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्‍वीसम्‍म बिजुली चम्‍क्‍यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो। 24असिना पर्‍यो र बिजुली चम्‍क्‍यो। यस्‍तो त मिश्र राष्‍ट्रको प्रारम्‍भदेखि भएको थिएन। #प्रका ८:७; १६:२१ 25असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्‍यो। 26केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन।
27तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्‍ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्‍छ, म र मेरा प्रजा गलत रहेछौं। 28परमप्रभुलाई बिन्‍ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्‍नुपर्दैन।”
29मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्‍कने बित्तिकै म परमप्रभुतिर आफ्‍नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्‍नुहोला कि पृथ्‍वी परमप्रभुकै हो। 30तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्‍वरको डर अझसम्‍म मान्‍नुभएको छैन।”
31(सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए। 32तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्‍छन्‌।)
33अनि मोशा फारोबाट सहरदेखि निस्‍केर गए, र परमप्रभुतिर आफ्‍ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन। 34तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्‌ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्‍ना हृदय कठोर गरे। 35यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्‍नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in