प्रस्थान 24
24
करार पक्का भएको
1फेरि उहाँले मोशालाई भन्नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना परमप्रभुकहाँ माथि उक्लेर आओ, र टाढ़ैबाट आफ्नो भक्ति चढ़ाओ। 2तर मोशा मात्र परमप्रभुकहाँ आओस्, अरूहरूचाहिँ नजिक नआऊन्। मानिसहरू पनि त्योसित माथि उक्लेर नआऊन्।”
3जब मोशाले गएर परमप्रभुका सबै कुरा र विधिविधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै सोर गरी भने, “परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्नेछौं।” 4तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे।
बिहान सबेरै उठेर मोशाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इस्राएलका बाह्र कुलअनुसार बाह्र वटा ढुङ्गाका खम्बा उभ्याए। 5तब तिनले इस्राएलका जवानहरूलाई पठाए, र तिनीहरूले परमप्रभुको निम्ति होमबलि र साँढ़ेहरूको मेलबलि चढ़ाए। 6मोशाले आधा रगत लिएर कचौरामा हाले, र आधा रगतचाहिँ वेदीमा छर्के। 7त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूका सामुन्ने पढ़े। तिनीहरूले जवाफ दिए, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”
8तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “हेर, यो त्यस करारको रगत हो, जो परमप्रभुले आफ्ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्नुभएको छ।” #मत्ती २६:२८; मर्क १४:२४; लूक २२:२०; १ कोर ११:२५; हिब ९:१९-२०; १०:२९
9त्यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना माथि उक्ले, 10र इस्राएलका परमेश्वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्तै सफा भएको पेटीजस्तो थियो। 11तर उहाँले इस्राएलीहरूका नाइकेहरूका विरुद्धमा आफ्नो हात उठाउनुभएन, र तिनीहरूले परमेश्वरलाई देखे र खानपान गरे।
12अनि परमप्रभुले मोशालाई भन्नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”
13तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्वरको पर्वतमा गए। 14मोशाले धर्म-गुरुहरूलाई भने, “हामी तिमीहरूकहाँ नआउञ्जेल तिमीहरू यहीँ हामीहरूलाई पर्ख। हारून र हूर तिमीहरूसँग छन्। कसैको केही विवाद भए तिनीहरूकहाँ जाऊन्।”
15तब मोशा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो। 16परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्म पर्वतलाई ढाकिराख्यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो। 17इस्राएलीहरूका दृष्टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरामा भस्म पार्ने आगोजस्तै थियो। 18तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे। #व्य ९:९
Currently Selected:
प्रस्थान 24: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012