YouVersion Logo
Search Icon

व्यवस्था 23

23
सभाका नियमहरू
1लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्‍नु निषेध छ।
2निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।
3अम्‍मोनी वा मोआबी परमप्रभुको सभामा पस्‍न पाउनेछैन। दश पुस्‍तासम्‍म उनीहरूको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन। #नहे १३:१-२ 4किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्‍वागत गरेनन्‌। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्‍ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्‍न भनी पैसा दिएर बोलाए। #गन्ती २२:१-६ 5तापनि परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन, तर उहाँले त्‍यो सरापलाई आशिष्‌मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्‍छ। #गन्ती २३:७—२४:९ 6तिमीहरूले बाँचुञ्‍जेल अम्‍मोनी र मोआबीहरूसँग मित्रताको सन्‍धि नबनाउनू।
7कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्‌। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ। 8उनीहरूबाट जन्‍मेका तेस्रो पुस्‍ताका सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछन्‌।
विभिन्‍न नियमहरू
9तिमीहरू आफ्‍ना शत्रुहरूसँग लड्‌न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस। 10कुनै पुरुष स्‍वप्‍न-दोषले अशुद्ध भएको छ भने, त्‍यो छाउनीबाट बाहिर जाओस्‌ र त्‍यहीँ बसोस्‌। 11साँझ हुँदैजाँदा नुहाएर सूर्यास्‍त भएपछि त्‍यो छाउनीभित्र आउन सक्‍छ।
12दिसा गर्ने ठाउँ छाउनीको बाहिर तोक। 13तिमीहरूका हतियारसँग खन्‍ने थोक पनि राख, र दिसा बसिसकेपछि त्‍यसैले खाल्‍डो खनेर दिसा पुरिदिनू। 14किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्‌डुल गर्नुहुन्‍छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्‍नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्‍छ।
15कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्‍यसलाई त्‍यसको मालिककहाँ नसुम्‍प। 16त्‍यसले मन पराएको सहरको कुनै भागमा त्‍यसलाई तिमीहरूका माझमा बस्‍न दिनू। तिमीहरूले त्‍यसमाथि अत्‍याचार नगर्नू।
17कुनै इस्राएली पुरुष वा स्‍त्रीले मन्‍दिरका वेश्‍याको काम नगरोस्‌। #लेवी १९:२९ 18कुनै भाकल पूरा गर्न वेश्‍यागमन अथवा पुरुषगमनबाट कमाएर ल्‍याएको कुनै पैसा परमेश्‍वरको भवनमा नल्‍याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले दुवैलाई घृणा गर्नुहुन्‍छ।
19ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू। #प्रस २२:२५; लेवी २५:३६-३७; व्‍य १५:७-११ 20विदेशीबाट त तिमीहरू ब्‍याज लिन सक्‍छौ, तर आफ्‍ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्।
21तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै भाकल गरेपछि त्‍यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्‍यो पूरा भएको हेर्न चाहनुहुन्‍छ। नत्रता तिमीहरूलाई पाप लाग्‍नेछ। #गन्ती ३०:१-१६; मत्ती ५:३३ 22तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्‍नेछैन। 23जे कुरा तिमीहरूको मुखबाट निस्‍कन्‍छ त्‍यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले त्‍यो स्‍वेच्‍छापूर्वक आफ्‍नै मुखले भाकल गरेको हो।
24तिम्रो छिमेकीको दाखबारीमा पस्‍यौ भने खान मन लागेको जति दाख खान सक्‍छौ, तर आफ्‍नो डालोमा केही नहाल। 25तिम्रो छिमेकीको खेतबारीमा पस्‍यौ भने अन्‍नका बाला हातले टिप्‍न सक्‍छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in