व्यवस्था 21
21
अज्ञात् हत्या
1परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्यो र हत्याराको निधो भएन भने, 2धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्यो पत्ता लगाऊन्। 3उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर 4त्यसलाई नजोतिएको र बीउ नछरेको उपत्यकामा कुनै खोलानेर लगेर त्यसको घाँटी भाँचिदिनुपर्छ। 5तब परमप्रभु परमेश्वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्ति उहाँले छान्नुभएको हुनाले लेवीका सन्तानका पूजाहारीहरू त्यहाँ आऊन्। 6त्यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्ना हात धोऊन्। 7तिनीहरूले यसो भनून्, “यो हत्या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्यो हुँदैगरेको देखे। 8हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्, र आफ्नो प्रजा इस्राएललाई यो निर्दोषका हत्याको दोष नलागोस्।” अनि यो हत्याको प्रायश्चित पूरा हुनेछ। 9यसरी परमप्रभुको दृष्टिमा तिमीहरूले उचित काम गरेकाले आफ्ना बीचबाट त्यो निर्दोषका हत्याको दोष हटाउनेछौ।
युद्धबन्दी स्त्रीसम्बन्धी नियम
10तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका हातमा शत्रुहरू सुम्पेर उनीहरूलाई युद्धबन्दी बनाइ ल्याउँदा, 11कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्यसलाई पत्नी बनाउन सक्छौ। 12त्यसलाई आफ्नो घरमा लैजाऊ र त्यसलाई आफ्नो कपाल खौरन र नङ काट्न लगाऊ, 13र कैदमा पर्दा त्यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्म त्यसले आफ्ना बुबा-आमाको निम्ति विलाप गरेपछि तिमी त्यसकहाँ जान सक्छौ र त्यसको पति बन्न सक्छौ, र त्यो तिम्री पत्नी हुन्छे। 14पछि त्यो स्त्री तिमीलाई मन परेन भने, त्यसलाई जहाँ इच्छा लाग्छ जान देऊ। तिमीले त्यसलाई बेच्नुहुँदैन वा त्यसलाई कमारीलाई जस्तो गरी व्यवहार गर्नुहुँदैन, किनकि तिमीले त्यसको सतीत्व नष्ट पारेका छौ।
जेठो अधिकार
15यदि कुनै मान्छेका दुई पत्नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्माई भने, 16अंशबन्डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्छालाई अधिकार दिन पाउनेछैन। 17तर त्यसले मन नपर्नेको छोरालाई नै आफ्ना सबै धन-सम्पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्यता देओस्, किनभने त्योचाहिँ त्यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्यसको नै हुनेछ।
दुष्ट छोराको सजाय
18आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने, 19त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्। 20तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” 21तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
22कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रूखमा झुण्ड्यायौ भने, 23त्यसको लाश रातभरि रूखमा झुण्ड्याएर नराख्नू, तर त्यही दिन त्यसलाई गाड़िहाल्नू, किनभने जो झुण्ड्याइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार। #गला ३:१३
Currently Selected:
व्यवस्था 21: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012