YouVersion Logo
Search Icon

व्यवस्था 17

17
अरू देवताहरूको पूजा नगर्नू
1तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्‍ति त्‍यो घृणित हो।
2परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्‍ने कोही स्‍त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरको करार भङ्ग गरी 3उहाँको नजरमा दुष्‍ट काम गरेको तिमीहरूले चाल पायौ भने, #प्रस २२:२० 4तिमीहरूले त्‍यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्‍य रहेछ र यस्‍तो घृणित काम इस्राएलमा भएकै रहेछ भने, 5यस्‍तो दुष्‍ट काम गर्ने पुरुष वा स्‍त्रीलाई सहरको मूल ढोकामा ल्‍याई ढुङ्गाले हानेर मार्नू। 6मारिने व्‍यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू। #गन्ती ३५:३०; व्‍य १९:१५; मत्ती १८:१६; २ कोर १३:१; १ तिमो ५:१९; हिब १०:२८ 7त्‍यसलाई मार्न साक्षीहरूले नै सबैभन्‍दा पहिले हात उठाऊन्‌। त्‍यसपछि अरू मानिसहरूले हात उठाऊन्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टतालाई खतम गर्नुपर्छ। #१ कोर ५:१३
मुद्दा-मामिलाहरू
8कुनै हत्‍याकाण्‍ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्‍यो भने, परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जानू। 9पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्‍नू, अनि तत्‍कालीन न्‍यायकर्ताकहाँ गएर परामर्श लिनू। 10परमप्रभुले छान्‍नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्‍यान दिनू। 11तिनीहरूले सिकाएको व्‍यवस्‍था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्‍नू। 12शेखी गरेर त्‍यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवामा उपस्‍थित रहने पूजाहारी वा न्‍यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ। 13सबै मानिसहरूले यो सुन्‍नेछन्‌ र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्‌।
राजाको चुनाउ र कर्तव्‍य
14परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने, #१ शमू ८:५ 15परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको व्‍यक्तिलाई नै तिमीहरूले निश्‍चय गरेर आफ्‍ना राजा मान्‍नू। तिनी तिमीहरूका दाजुभाइमध्‍येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन। 16ती राजाले असंख्‍य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्‍याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्‍यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ। #१ राज १०:२८; २ इति १:१६; ९:२८ 17तिनले आफ्‍नो लागि धेरै पत्‍नीहरू जम्‍मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्‍ना निम्‍ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्‌। #१ राज १०:१४-२२,२७; ११:१-८; २ इति १:१५; ९:२७
18जब तिनी आफ्‍नो राजसिंहासनमा बस्‍छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्‍यवस्‍थाको एक प्रति नकल एउटा पुस्‍तकमा तिनले उतारून्‌। 19त्‍यस व्‍यवस्‍थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्‍तक तिनीसँग रहोस्‌ र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको डर मान्‍न सिकून्‌। 20तिनले आफैलाई आफ्‍ना दाजुभाइहरूभन्‍दा श्रेष्‍ठ नठानून्, र व्‍यवस्‍थाबाट तर्केर दाहिने वा देब्रे नलागून्‌। यसरी तिनी र तिनका सन्‍तानले लामो समयसम्‍म इस्राएलमा तिनको राज्‍यमाथि शासन गर्नेछन्‌। #व्‍य ३१:११-१२

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in